भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म आज फेरि खोजिरहेछु सीतालाई ...! / पवित्रा लामा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाथा सकियो
व्यथा सकिएन
जंगल-जंगल भटकिरहेकी छे सीता
सत्तासीन शक्तिहरूले घरिघरि मागिरहेछन्
उनलाई शुद्धताको प्रमाण....।

गुँजिरहेछ सरयुका किनारहरुमा
हावाका झोंकाहरूले सुस्तरी बिउँझाइरहेछ
सीताका मौन आर्तनादहरु
विकट वनहरूमा ....
म आज फेरि खोजिरहेछु सीतालाई …!

जन्मदेखि नै विवादित
वैदेही !
तिम्रो जीवन पनि
उस्तै जिजीविषापूर्ण !

गाथाभरि
तिमी मौन छौ  !
तिमी गौण छौ !
वीरताका र महानताका जम्मै घोषणाहरू
रामबाटै मुखर भएका,
रामलाई ‘राम ’ बनाउनमा नै
तिमी समर्पित थियौ
आजीवन
आमरण ।

तिमी उर्वरताको मानवीकरण !
तिम्रो रूप
तपस्वीहरूको तपोबल
ईन्द्रको सिंहासन
तीनै लोकको स्वामित्व
सहजलब्ध गराउन सक्षम
तर तिमीले वनवास रूचायौ
काँडामय पथहरू ,
पञ्चवटीका बीहडता ,
र खरको झुपडी
सहर्ष अप्नायौ
जिथे राम तिथे सीता” ।

निशर्त प्रेमकी प्रतिमूर्ति  !
तिमी लक्ष्मण रेखा नाघेको
गम्भीर आरोपमा फँसेकी छौ
आजपर्यन्त ....।

तिमी पुरूषत्वको दम्भद्वारा
अपह्रृत भयौ
जसरी अपमानित भएकी थिई ‘द्रौपदी
र आजसम्म पीडित भईरहेका छन्
निर्भयाहरू’।

अशोकवनमा शोकग्रस्त
तिमी भयका पोषक-पालकहरूबाट
पल-पल प्रताडित भयौ
तिम्रो सतीत्व
सङ्कटग्रस्त थियो ।

तिमी एक्ली थियौ
दुर्बल थियौ
मौन थियौ
तिमीसित हतियारको नाउँमा
तिम्रो दृढता
लक्ष्यमाथि अटल विश्वास
रामप्रतिको अगाध आस्था
र थियो एक सिन्का दुबो ।

दुबो त्यसखेर
तीरभन्दा धारिलो भएको थियो
यो एक सतीको मौन युद्धकला थियो
या एक सबल योद्धाको अस्त्र,
दुबो त्यसक्षण
रामको वाणभन्दा
शक्तिशाली
अनि
अहम्भेदी थियो ।

वसुधापुत्री !
रामको युद्ध रावणको पतनसम्म,
तिम्रो युद्ध ..
हलोदेखि धनुसम्म
अग्निपरीक्षादेखि निर्वासनसम्म
पितृसत्ताको सिंहासनदेखि
मातृसत्ताको काखसम्म…

आज पनि शापित छ अयोध्या !
एक सतीको अश्रुको श्राप हो वा
विवादास्पद जन्मभूमिको सन्ताप
अथवा आत्मग्लानिको परिताप

गुँजिरहेछ आजपनि
सरयुका किनारहरुमा
हावाका झोंकाहरूले पुनः बिउँझाइरहेछ
सीताका मौन आर्तनादहरु !
विकट वनहरूमा
म आज फेरि खोजिरहेछु सीतालाई ...।