भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म झरी बर्सन्छु / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
गड्गडाएर अहङ्कारका गर्जन विरुद्ध
चम्चमाएर विद्रोहका बिजुली
सुसेल्दै आँधीका प्रचण्ड प्रवेग
उचालेर ज्वालामुखीका हुङ्कारहरू
म झरी बर्सन्छु
झम झम झम झम
झम झम झम झम।
 
रेटेर दम्भका कठोर घाँटीहरू आत्मीयताले
धुल्याएर अभिमानका अग्ला पहाडहरू प्रेमले
छेकेर पीडाहरूको जुलुस बस्ती बाहिरै
झुक्याएर हरेक शकुनि चालहरूलाई प्रत्येक युगहरूमा
म झरी बर्सन्छु
झम झम झम झम
झम झम झम।
 
म प्रेम बर्सन्छु।
सद्भाव बर्सन्छु।
आत्मीयता बर्सन्छु।
पखालेर घृणा र द्वेषका उन्मत्त हिमालहरू
म समर्पणका हिमनदी बर्सन्छु
जमेर हिमताल बर्सन्छु
पग्लेर नदी बर्सन्छु
बगेर दुखका आँसुहरू मान्छे आँखाबाट
म खुसी बर्सन्छु।
आनन्द बर्सन्छु।
हर्ष बर्सन्छु।
झम झम झम
झम झम झम झम।
म झरी बर्सन्छु।
 
मेरो बर्साइले हर्ष ल्याउन सक्छ।
नल्याउन सक्छ।
खुसी ल्याउन सक्छ।
नल्याउन सक्छ।
तिमीले खोजेको सुसमय ल्याउन सक्छ।
नल्याउन सक्छ।
आफ्नै नियति हो
तैपनि म बर्सन्छु।
झम झम झम
झम झम झम
म झरी बर्सन्छु।
 
काला अतीतका पानाहरूभरि
म चहकिलो उज्यालो बर्सन्छु
निराश वर्तमानका आँगनहरूमा
म आशा बर्सन्छु
अज्ञात भविष्यका नाममा
उज्यालो आकाश बर्सन्छु
तिम्रा पीडाका आँचलहरूमा
म आनन्दका टल्कने
शीत बर्सन्छु
झम
झम झम
म झरी बर्सन्छु।
 
चिसा उदास मझेरीहरूमा
हाँसो बनेर बर्सनु छ
भोका मादल पेटहरूमा
अन्न बनेर बर्सनु छ
निराश कलेटी ओठहरूमा
मुस्कान बनेर बर्सनु छ
दुखी मलीन मुहारहरूमा
कान्ति बनेर बर्सनु छ
अत्याचार र अन्यायहरूका विरुद्ध
क्रान्ति बनेर बर्सनु छ
सबै सबै क्रूरताहरूमाथि
विद्रोह बनेर बर्सनु छ
अँध्यारो ओढेर निदाएका बस्तीहरूमा
सिङ्गो जून र एक अँजुली तारा बर्सनु छ
झम झम
झम झम झम
म झरी बर्सन्छु।
म झरी बर्सन्छु
र ल्याउँछु
गीतका भाकाहरू
फूल र सुगन्धको महक
शान्ति र समृद्धिको चहक
झम झम
झम झम
म झरी बर्सन्छु।
 
म झरी बर्सन्छु
र ल्याउँछु
मसिना खुसीहरूको लस्कर
सेता हिमालहरूको पवित्रता
सङ्ला नदीहरूको कलकल
राता गुलाफहरूको यौवन
अँजुलीभरि सुन्दर ताराहरू
ओठभरि स्निग्ध मुस्कान
पाइलाभरि उत्साह र उमङ्ग
छातीभरि कहिल्यै नरित्तिने विश्वास
र छरिदिन्छु
गाउँभरि। बस्तीभरि। सहरभरि। देशभरि। संसारभरि।
झम झम झम
झम झम झम
म झरी बर्सन्छु।
 
अझै,
भयङ्कर आणविक भट्टीहरूमा मैले
बुद्ध बनेर बर्सनु छ
भीषण युद्धका मोर्चाहरूमा मैले
जिसस बनेर बर्सनु छ
म गान्धी बर्सन चाहन्छु
हरेक हिंस्रक मनहरूमा
म वाल्मीकि बर्सन चाहन्छु
सबै सबै रत्नाकर हृदयहरूमा
घाम र जून बर्सन नसके पनि
एउटा पिलपिले जुन्किरी बर्सन चाहन्छु म
मान्छे जीवनका अन्धकार पलहरूमा
झम झम झम झम
झम झम झम
म झरी बर्सन्छु।
 
कठाङ्ग्रिँदा चिसा रातहरूमा
हिउँ बर्सनुको पीडा छ मसँग
उत्तप्त मध्याह्नहरूमा
टन्टलापुर घाम बर्सनुको वेदना छ मसँग
म झरी बर्सँदा बर्सँदै पहिरो बगेको छु
बर्सेर झरी बारीका पाटाहरू बगेको छु
बगेको छु खेतका फाँटहरू
ससाना अबोध नानीहरू बगेको छु
कल्कलाउँदा युवायुवती बगेको छु
र बगेको छु अशक्त वृद्धवृद्धा
समयको एउटा साह्रै साह्रै साह्रै नरमाइलो पाटो बगेको छु
बर्सनु बग्नु बगाउनु
फेरि बर्सनु फेरि बग्नु फेरि बगाउनु
यस्तै यस्तै विवशता पनि बर्सन्छु म
लाचारी पनि बर्सन्छु म।
 
अन्तिम पटक। मात्र अन्तिम पटक
फेरि एकपल्ट बर्सने इच्छा छ मसँग
म फूल बनेर बर्सन पाऊँ
झम झम झम
झम झम झम
म मुस्कान बनेर बर्सन पाऊँ
झम झम
झम झम
म शान्ति बनेर बर्सन पाऊँ
झम झम झम झम
झम झम झम झम
म स्वतन्त्रता/न्याय/सङ्गति/सदाचार र समानता बनेर बर्सन पाऊँ
झम झम झम झम
झम झम झम झम
 
झम झम
झम
म झरी बर्सन्छु।