भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यही सोचेर नै / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यही सोचेर नै चित्त बुझाएँ मैले
आँसुसँगै तिमीलाई बगाएँ मैले

जल्नु त छँदै थियो पुतलीहरूले
दियो एउटा बालेर के बिराएँ मैले

उम्कन्छौ या बाँधिन्छौ, मर्जि तिम्रो
हिम्मत गरेर यी आँखा जुधाएँ मैले
 
भन अरू केके त्याग्नुपर्छ मायामा
भोक निन्द्रा त पहिल्यै गुमाएँ मैले

प्रेमको बाटोमा हिड्ने तय गरेपछि
फूल र काँडा एकसाथ सजाएँ मैले

तिम्रै यादमा हरपल रमाइरहन्छु
जिन्दगीका अरू मिठास हराएँ मैले

तिमीभित्रै कतै म हराउँछु कि भनी
मेरो हृदयमा तिम्रै नाम खोपाएँ मैले

मुस्कानले छोपिरहेँ हजारौँ पीडालाई
सानु, तँलाई यसरी खुशी बनाएँ मैले