भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्रामा निस्किँदै. / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पाइलाहरू
हिँडदै थिए, अडिँदै थिए।
 
जीवनलाई बँचाइराख्न
जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालाई,
माटाहरूले मलाई समात्न खोजिरहेथे
ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे।
 
त्यो रातलाई
वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो
ती ताराहरूलाई,
त्यो जूनलाई,
कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो।
 
मैले तर
हिँडिरहनु थियो।

बुझपचाउनु परेको थियो
ती पातमा अडिएका रातका आँसुहरूलाई
ती फूलका चोट र निरीहतालाई
हाँगा भाँचिँदाका ती वृक्षहरूका पीडाहरूलाई।
 
र लुकाउनु थियो
आफ्नै आँखाबाट फर्की मनमा जमेको पोखरीलाई पनि।
 
मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो,
एक्लै, एकलासको बाटामा पाइला चालिरहनु थियो।
 
पछि जे हुनु नहुनु छँदै थियो
बाँचुन्जेल मैले
लगातार नबाँचिरहनु थियो।