यी क्लिसेहरू धेर भए / ओक्टाभियो पाज / सुमन पोखरेल
आहा!कत्ति सुन्दर मुहार !
सूर्यमुखीले घाममा आफ्ना पत्र फुकाएझैँ
आफ्नो सुन्दर मुहारले मलाई स्वागत गर्यौ तिमीले
मैले पन्ना पल्टाउने बितिक्कै।
तिम्रो स्वर्गीय मुस्कानमा डुबेर
जुनसुकै पुरुषले आफूलाई बिर्सन सक्छ
ए!पत्रिकाकी सुन्दरी!
तिमीप्रतिको घातक भ्रममा डुबेर
तिम्रो बनावटी सुन्दरताको स्वैर कल्पनामा
तिमीमाथि कति हो कति कविता लेखिइसके।
कयौँ दाँन्तेहरूले तिमीलाई बेट्रिस लेखिसके।
तर आज म
फेरि त्यसैलाई दोहोर्याउने छुइनँ।
यो कविता तिमीमाथि लेखेर
फेरि अर्को क्लिसे बनाउने पक्षमा छुइनँ म।
अहँ, पटक्कै छँदै छुइनँ,
यी क्लिसेहरू धेरै भए।
यो कविता ती नारीहरूप्रति समर्पित छ
जसको सुन्दरता कृत्रिमताले सिँगारेको नक्कली अनुहारमा हैन
आफ्नो ओजमा छ
बौद्धिकतामा छ
आनिबानिमा छ।
यो कविता ती नारीप्रति लक्षित छ
जो सेहराजादका झैँ नयाँनयाँ कथा भन्नका लागि
हरेक दिन एकाबिहानै उठ्ने गर्छन्।
जसका कथामा परिवर्तनको गीत गुन्जन्छ
युद्धको सङ्गीत ब्यूँझन्छ-
युद्ध, गाँसिएका मनहरूको प्रेमका पक्षमा गरिएको युद्ध
नयाँ दिनले ब्यूँझाएको जोसका पक्षमा थालिएको युद्ध
पछाडि पारिएकाहरूको अधिकारका पक्षमा लडिएको युद्ध
वा एक रात ज्यादा बाँच्नका लागि गरिएको युद्ध।
हो, यो कविता समर्पित छ
तिमी, पीडाले थिचिएका नारीहरू प्रति
तिमी, कहिल्यै नसकिने यो ब्रह्माण्डका ताराहरू प्रति
तिमी, हजारौँ युद्धका योद्धाहरू प्रति
तिमी, मेरो हृदयका साथीहरू प्रति।
आज उप्रान्त मेरो शिर कुनै पत्रिका हेर्न झुक्ने छैन
यसले बरू
यी रात र ताराहरूलाई नियालिरहनेछ,
यी क्लिसेहरू धेर भए।