भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

युद्धमैदानको एउटा सपना / टङ्क वनेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जूनताराको झल्लारी छाता ओढाउँदै
निद्राको डोली सजाएर
परी नाच्ने हिमालपारिबाट
युद्धमैदानको एउटा सपनामा
सपनाकी रानी लिन आउँछिन्
अनि—
दन्त्यकथाको राजकुमारजस्तो
पहाड— माथि–माथि
सुनाखरी टिप्दै
सुनपाती र भैरुङपातीको
बुटा–बुटामा अल्झेर
मृगशावकजस्तो
लुकामारी खेल्न थाल्छु
जूनको आभामा
मुस्कुराएको हिमालवारिपारि
नौरङ्गे डाँफेझैँ
म पनि वेग हान्न लाग्छु।

सबैतिर— व्याप्त शान्ति छ
क्षेप्यास्त्रको धूवाँ छैन
न नक्षत्र–तारा–ग्रह
कसैको हस्तक्षेप नै छ
शान्तिको मन्त्र फलाक्दै
ब्यानर बोक्ने
मान्छेहरूको भीड छैन
हातमा तारबार बोकेर
युद्धको शङ्ख फुक्ने
कसैमाथि कसैको
इख छैन ।
 
अहो, कस्तो शान्ति ।
तर सपनाकी रानी फेरि—
बिपनाको डोली बोकेर आउँछिन्
अनि—
सङ्घर्षमय संसारको भीडमा
छाडेर भाग्छिन्
त्यतिखेर म
दन्त्यकथाको राजकुमार हैन
युद्धमैदानमा योद्धा भएर
एउटा मोर्चा रुङिरहेको हुन्छु।

सङ्गिन र बारुद बोकेर
मान्छेको छाती घोच्ने
दाउ हेर्दै
सपनाको शान्तियात्रामा
उङिरहेको हुन्छु।
हे ईश्वर ।
यो मेरो बिपना सपना भए
मान्छेको छातीमा गोली हानेर
मेरो जीवन
निर्वाह गर्नुपर्ने त थिएन ।