यौटा मिल्कि सकेको पर्स देखेपछि ... / राज माङ्लाक
बिहान, अचानक कोठेबारीमा उत्तानो पल्टिएको
बैंस निख्रिसकेको, अस्थिपञ्जरले संसार नियालिरहेको
यौटा निरीह वृद्ध पर्स
आँखाका परेलासम्म पिङ खेल्दै आइपुगेपछि
लाग्यो –
पर्स पनि टाटीले बारेको मेरो घर जस्तै हो ।
जहाँ कठिनले उक्लन्छन्
र सहजै ओर्लिन्छन्
बेसरम कागजका छापहरु
जहाँ हाँस्दै भित्रिन्छन्
र दुःखी मनले रुदै बाहिरिहाल्छन् हर्षका अंशहरु ।
पर्स –
कठिन गन्तव्य स्थल हो उपियाँजस्ता रुपिँयाहरुको ।
जसरी –
जीवनमा सुखहरु
प्याट्ट बिहानीको घामको निधारलाई हिर्काएर जिस्कन्छन्
र भित्रिन्छन् एक मुठी खुसीका क्षणहरु
जसरी, अकस्मात् चिठ्ठामा भाग्य उडेर आउँछ
अर्थात, हिँड्दा हिँड्दै उकालीमा
दुःखका पसिनाहरु हम्किने चौतारी भेटिन्छ
तर,
श्वास–प्रश्वासको भेट हुन नपाउँदै
निसास्सिएको बहाना बनाएर ओर्लिहाल्छन्
मुस्कुराउँदा मुस्कुराउँदैका
दाँतका टलकहरुबाट आलुचाका फूलहरु
त्यसपछि
फेरि सुरु हुन्छ टुहुरा बालकका कथाहरुमा
जीवनका हाँगाहाँगा खिया लागेका
बिपनाका प्रत्येक दिनका पन्नाहरु
पर्स जीवन पनि हो
जीवन पर्स न हो
थोरै खुसी भित्रिने
धेरै दुःख भित्रिने
र खुसी वास बस्नै नमान्ने
दुःख घर छोड्नै नचाहने ।
यौटा मिल्कि सकेको पर्स देखेपछि ..... ।