भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रगत सिँच्नेहरू - २ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डोको घोप्टाएर हामीले कहिले
कञ्चनजङ्घा हेर्ने गरेका थियौं र
तिमीले कङक्रिटको अग्लो-अग्लो जङ्गल बनायौ।

तिम्रो वार्षिक बजटमा परेको
असङ्ख्य बेरोजगार
असङ्ख्य दलाल
असङ्ख्य भट्टीपसलहरूको परियोजना ।
असङ्ख्यपल्ट टालटुल र छोपछाप पार्दै नङ्गाइएको
कहिल्यै राजधानी नपुग्ने राजमार्गको किनारै - किनार
असङ्ख्य गोसखानहरूको शिलान्यास

बाबुलाई ढोँगी र रक्स्याहा
छोरालाई बेकार र नपुंसक
आमालाई महँगो घरेलु दुर्घटनाहरू !

घिच्रोमा हलो र जुवा
शिरमा सधैँ विकासको चुनावी एजेण्डा ।

सूर्योदय छेकिएर नीलकण्ठ उभेको छ कञ्चनजङ्घा
कस्तो बीभत्स दृश्य हुँदोरहेछ
आफूले जन्मा'को मर्द छोराले
अनायास हिजडा हुनुपर्दा !

झुल्केको घामलाई हामीले कहिले हत्केलाले
छेक्नुपरेको थियो र ?
तिमीले हाम्रो हड्डीहरूको थुप्रोमा
क्षेत्रीय प्रकल्पको मरूभूमि बनायौ !

कङ्क्रिटको जङ्गल पस्न कसले हेर्छ कञ्चनजङ्घा !
मान्छेको रगतको हिमपात सहन कसले हेर्छ कञ्चनजङ्घा !