रविकी आमा / विष्णु न्यौपाने
जीवन बनीबुतोमा जन्मिएको होइन उनको ।
नत हो साहुको खेत खलियानमा ।
समाहाको हिलेपानीमा चिप्लेटी खेल्दा
बेठीका नृत्यमा गोडा छम्छमाउथिन् उनी ।
हावाको गुदगुदीमा नाच्ने धानका बालाहरूले
उनकै नाममा सिर्जन्थे स्वप्नील धुनहरू ।
भित्रीरहँदा मधुमासका क्षणहरू
बगिरहेथ्यो माधुर्य वर्तमान
उज्यालो भरि खुसी ओछ्याएर,
सहजता भरि जीवन फिँजाएर ।
तर,......घुमिरहने रोटेपिङलाई के थाहा
समयका चुकुलमा पाड्का ठोकिए वा
खिइँदैछन् खाँबाका कापहरू भनेर ?
मिथकका कहानी बन्दैगरेका मुस्कानका छाँयाँहरू
किमार्थ कल्पेन मानसपटलले उनको
वा झक्झकाएन कुनै रात
निष्ठुरी सपनाले पनि ।
शरीर सम्पत्तिमा सुख खोज्दो रहेछ ।
शरीर अभावमा दुःख भोग्दो रहेछ ।
दुःख भोगेर सुख चुम्ने शरीर भन्दा
सुख भोगेर दुःख रोज्ने चाहिँ
साँच्चै नै पीडादायक बन्दोरहेछ ।
हो, आज धेरै दुःखी छिन् रविकी आमा ।
हरेक दिन साहुको मेलामा अमीला पसिना चुहाउँदा मात्र
बाँच्ने बनेको छ उनको जीवन ।
चुहुँदो झरीबाट जोगाएर बृद्ध शरीर
बाँच्नु छ आफू र बँचाउनु छ मायाँ
नाम मात्रका सन्तानको ।
सातौं सन्तानमा एकमात्र छोरो ‘रवि’
जन्मसिद्ध छारेरोग ग्रस्त छ उनको ।
आफू भन्दा पच्चीस बर्ष बूढो पतिको
पन्ध्रौं पुण्य तिथि पार भै सक्ता
अरुकै मझेरीमा सुसारे बसेर हुर्केका छोरीहरू पनि
लफङ्गा ज्वाइँ ब्यहोरेर जीवन गुजार्न बाध्य छन् ।
त्यै लट्यांग्रो रविको दैनिक औषधी र मुखमा माड लगाउन
साहुका मेलामा बूढो हड्डी खियाउँछिन् रविकी आमा ।
पहाड बेचेर जोडेको नौ धुर ऐलेनी माटोमा
उभ्याएको स्याउला र टाटीको झुप्रो पनि
बाढीको कटानले त्राही त्राही बनाइरहेछ ।
करेंसोमा उर्लिएको भेल जस्तै
छाती भित्र उर्लिएको भेल थाम्न नसक्ता
रविको अनुहार, च्यातिएको घुम,
मकिएको झुप्रो र सुकेका नारीहरू नियाल्दै
अधीर हुन्छिन् रविकी आमा ।
नियतिको जाँतोमा पिसिएको
उनको दुब्लो शरीर, कुप्रो ढाड, टेढा आँखा,
पाकेका कपाल र झरेका दाँतहरूले बोलिरहेछन् ः
रवि ! तेरै लागि म बाँचिरहेछु ,
सिर्फ तेरै लागि... ।