भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

रामायण-सुन्दरकाण्ड / रघुनाथ पोखर्‌‍याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पहिलो सर्ग

अगम बल लगाया सिन्धु गोखुर्[1] बनाया ।
असुरदल जलाया मेरुकाया[2] बनाया ।।
सुमति गुण चलाया धन्य ती फेरि आया ।
कपिपति[3] कहलाया रामको प्रेम पाया ।।१।।

सय योजन्[4] भनि त प्रमाण् कह्याका ।
कमरादी जलजन्तु धेर् भयाका ।।
जलधी पार हुनै भनी कुद्याका ।
हनुमान् संशय तेजि[5] खुस् भयाका ।।२।।

ध्यान राखी परमात्मरामपदको भन्दा भया दिल् घडी[6]
वानर् हो मञिलाई हेर अहिले जाँदा गगन्‌मा उडी ।।
सीताका पनि पाउन्यै छु दरसन् ऐल्हे कृतार्थै[7] भञा ।
फेरी फर्कि म रामका चरणमा पुग्न्या छु जानी लिञा ।।३।।

स्मरण्[8] गर्न्या मर्न्या समय विचमा राम भनि जन् ।
अपार् संसार् सागर् तरि परमपद्माe पुगदछन् ।।
म दूतै हूँ तिन्‌को मसित सुनको औंठी उनको ।
छ उन्‌कै ध्यान राखी अलप[9] जलधी पार् हुनु निको ।।४।।

येति भनीकन पसारि भुजा[10] कुद्याका ।
तेर्छो गलो तल नजर् पद खुम्चियाका ।
दक्षिण् दिशातिर मुखै गरि गै गयाका ।
ती वायुवेग हनुमान धिरज्[11] धर्या>का ।।५।।

त्यो देखी देववार्ता[12] कति न कति भया वायुवेग्‌ले गयाको ।
लङ्कामा पस्न सक्‌न्या छ कि छइन भनी बुझन मन्सुव् भयाको ।।
तेस् बेला नागमाता तिर फरकि सबै देवताले भन्याको ।
वानर्‌को विघ्न केही गरीकन बुझि आ बुद्धि बल् जो भयाको ।।६।।

हनूमान्‌को विघ्नै गरुँ भनि गयाकी उ सुरसा ।
बसी बाटो छेकी वचन कहनै लागि सहसा[13] ।।
क्षुधा[14] देखी मेरा अमरगणले भक्षण[15] दिया ।
प्रवेश् गर् यै मेरा वदन-बिचमा क्यै मति भया ।।७।।

त्यो सुन्दा हनुमानले पनि भन्या श्रीरामका काममा ।
जान्छू जानकिलाइ खोजन भनी फिर्न्याछु छिन मात्रमा ।।
सीताको समचार् सुनाइ सहसा श्रीरामका कानमा ।
वाँ[16] देखी मुखमा प्रवेश गरुँला खुस् हौ नमस्कारमा ।।८।।

येती भन्याकि सुरसा हनुमानजीले ।
भन्दी भई वदनमा पसि जानु तैले ।।
नाहीं भन्या तँकन खाइ दिन्याछु मैले ।
ऐल्हे मलाइ पनि भोक बडो हुनाले ।।९।।

त्यो सुन्नि मात्र बजरंबलिले[17] भन्याको ।
मुख् बाउ पस्दछू र जान्छु म वेग् लियाको ।।
येती भनी शरिर योजनको तुल्याया ।
ती रामदूत हनुमान कहाँ डराया[18] ।।१०।।

त्यो देखी पाँच योजन् वदन उ सुरसाले बढाई बढाई ।
दश् योजन्‌का हनुमान् तब वदन बडो बीस योजन् गराई ।।
तीस् योजन्‌का हनुमान् तब वदन पचास् योजनैको तुल्याइ ।
औंठी झैं भै पस्याका बाहिर भइ[19] कपी भन्न लाग्या भुलाई ।।११।।

म ता तिम्रा तेस्ता मुखभितर गै बाहिर भञा ।
नमस्कार् यो मेरो तिमिकन छ जान्छू अब गञा ।।
भन्याको सुन्दामा सहज सुरसा त्यो चकित भै ।
शुभाशीर्वाद् गर्दै कपि सित उ विस्तार् कहँदि भै ।।१२।।

पठायाको तिम्रो बल बुझ भनी देवगणले ।
त्यसै कारण् मैले बल बुझी लियाको विघनले[20] ।।
उ सीताको दर्शन् तिमीकन त मिल्ला सहजले ।
पुगौला श्रीराम्‌का चरणतलमा त्यै सुमतिले[21] ।।१३।।

येती भनेर सुरसा गइ देवलोक्‌मा ।
बज्रंबली ति हनुमान पनि सहज्‌मा ।।
जाँदा भया गरुड झैं गरि ता गगन्‌मा ।
श्रीरामको मकन काम भनी मगन्‌मा ।।१४।।

तेस्‌बेला त समुद्रले पनि भन्या मैनाकका कानमा ।
मेरो सागर नाम भो सगरले वृद्धि दिन्या कालमा[22]
तिन्‌का वंश विषे त रामकि जनम्[23] श्री रामका काममा ।
जान्छन् ती कपि जाउ पर्वत तिमी विश्रामका हेतुमा ।।१५।।

ती मैनाक गया सुवर्णमणिका तेस् माथि नर्[24] तन् थपी ।
पौंची ती हनुमानका नगीचमा भन्दा भया ह् कपी ।।
सागर्‌ले म अह्राउँदा उठि गया विश्राम क्यै पाउला ।
जाऊ फल्‌फुल खाउला तब तिमी छिन्‌भर् बसी आउला ।।१६।।

त्यो सुन्दा हनुमानले पनि भन्या श्रीइरामका काममा ।
जाँदामा मञिंले त खान नहुन्या क्या बात विश्राममा ।।
जल्दी जानु छ जानकीकन पनि खोज्ना निमित्तै भनी ।
कर्‌ले[25] स्पर्श गरी गया ती हनुमान् पन्छी समान्‌का बनी ।।१७।।

केही दूर थया भयंकर बडी क्वै सिंहिका भेटिई ।
तेस्‌ले वेग टुछाउँदा हुँदि अधोदिष्टी[26] दिंदा देखिई ।।
छायाको ग्रहणै गरीकन[27] पनी त्यो खान सक्‌न्या थिई ।
पानीमा पसि लात मारि ति थया लङ्काकि सम्मुख् भई ।।१८।।

ति जाँदा जाँदामा दखिन तिरका कोहि तटमा ।
पुग्या द्ख्या फल्‌फुल् बहुत मृग मन्छी नगीचमा ।।
पछी द्ख्या लङ्का त्रिकुट परवत्‌का शिखरमा ।
अनेक् पर्खाल् खावा[28] चहुँदिसि हुनाले गुपतमा[29] ।।१९।।

हनूमान्‌का मन्‌मा दशवदनका यस् नगरिमा ।
म रातीमा जाँला भनि उही रह्या बाँकि दिनमा ।।
तहाँ देखी राती शरीर घरि सानू पसि गया ।
उ लङ्काका ढोका भितर मनराजी[30] तब भया ।।२०।।

लङ्का ताहीं रहन्थी पुरि पनि सहजै राक्षसी भ्ष् बनाई ।
ढोकामा त्यो पस्याको बुझिकन रिसले लाल लोचन् गराई ।।
को होस् यस्तो तँ वानर् भनि मकन अनादर् गरिस् भित्र जाई[31]
रातीमा चोर जस्तो भइकन तँ पस्याको कउन् काजलाई ।।२१।।

येति बोली र हानी सहज चरणले ती हनूमानलाई ।
हान्या बज्रम्बलीले कठिन उ मुठिले लोटि शोणित्[32] बहाई ।।
फेरी त्यो ऊठी मात्रै[33] खुसि भई र भनी हे हनूमान जाऊ ।
तिम्रो कल्याण होला मकन जिति लियो जानकी भेटि आऊ ।।२२।।

मलाई ब्रह्मले अघि कहि दियाको सुन कथा ।
हुन्याछन् त्रेतामा दशरथ निषे राम सुपथा[34] ।।
उनैकी माया हुन् जनकतनया भै जनम[35] लिन् ।
भुभार् हर्ना खातिर् म हुँ विनति गर्न्या भइ मर्लिन् ।।२३।।

तसै कारण् भाई सँग भइ ति जालान् र वनमा ।
तहीँ सीतालाई दशवदन हर्न्या छ छिनमा ।।
पछी तिनका मंत्री अति कुशल सुग्रीव् ठहरिनन् ।
उ सीताको खोजी गरन भनि मर्कट्[36] फिजिदिनन् ।।२४।।

उनैमा एक् वानर् तिमीसँग उ पुग्न्या छ छलले ।
तिमीले हान्दामा तिमीसँग उ हान्या छ मुठिले ।।
उ वेथामा[37] मेरा वचन पनि संझी बुझियला ।
उसै बेलामा त्यो दशवदनको नास् गरियला ।।२५।।

भन्याको ब्रह्मले मकन पहिले हो सहि[38] भयो ।
जित्यौ लङ्कालाई सुन कपि सबैलाइ जितियो ।।
उ रावण्‌का अन्तःपुर बिच छ लीलाबन तहाँ ।
अशोकैका गाछी पनि त बहुतै सुन्दर जहाँ ।।२६।।

उहीं यौटा गाछी पनि छ सुन सुन्दर् सिम सफा[39]
उसै तल्‌मा सीता वरिपरि बडा राक्षसि खफा[40] ।।
तिमि देखी आऊ रघुवरसितै जाइ कहिद्यौ ।
उ सीताको जस्तो विरह छ उ पर्कट्[41] छ लगिद्यौ ।।२७।।

म धन्यै हूँ ऐल्हे हरिकन त सम्झन्छु मनले ।
इ संसार्‌का बन्धन् पनि त छुटि जान्छन् स्मरणले ।।
वनैका भक्तै छौ संग रहनु दुर्लभ् मिलिथयो ।
सधैं मेरा मन्‌मा हरि रहि रहुन् भन्दछु म यो ।।२८।।

बज्रङ्ले[42] सिन्धु नाघ्दा सहज फुरि[43] थयो वाम लोचन् सिताको ।
रावण्‌को वाम बाहू दशरथसुतको दक्षिणाङ्गै फुर्या<को ।।
रामायण्‌का कथाको प्रथम सरग[44] यो हो इतिश्री भयाको ।
पाठ् गर्नू कार्यसिद्धी सहज गरिदिन्या सुन्दरैकाण्डमाको ।।२९।।


                          ‘पुराना कवि र कविता’ बाट उद्धृताँश


शब्दार्थ
  1. गोरुका खुरले बनेको खाडल
  2. सुमेरु पर्वत जत्रो शरीर
  3. कपि=वानार
  4. चार कोस
  5. त्याग गरी
  6. धरी अर्थात् तरेर
  7. कृतार्थ अर्थात वानरका मालिक
  8. स्मरण अर्थात् याद
  9. अल्प अर्थात् थोरै
  10. भुजा अर्थात् हात
  11. धैर्य
  12. भुजा अर्थात् हात
  13. झट्ट
  14. भोक
  15. भोजन
  16. उहाँ
  17. बजरंबली हनुमान्
  18. कहाँ डराया=किन डराउँथे
  19. भई आई
  20. विघ्न अर्थात बाधा
  21. असल
  22. बढाएमा
  23. रामको जन्म
  24. नर-तन् अर्थात् मनुष्य शरीर
  25. कर अर्थात हात
  26. भइँतिर नगर
  27. ग्रहण गरीकन अर्थात् समातेर
  28. पानीका पर्खाल
  29. गुप्तमा अर्थात अरुल् नदेख्ने ठाउँमा
  30. मन आनन्द
  31. गएर।
  32. शोणित अर्थात रगत
  33. उठनेबित्तिकै
  34. असल मार्गमा लाग्ने
  35. जन्म लिइन्
  36. वानर
  37. व्यथामा अर्थात दुःखमा
  38. साँचो
  39. सिसौ
  40. जागेका
  41. प्रकट
  42. बजरंगबलीको छोटकरी
  43. फर्फरायो
  44. सर्ग अर्थात परिच्छेद