रोदन (श्लोक ८९ देखि ९९) / नरेन्द्रप्रसाद कुमाईँ
(८९)
कुन कमानको यो तीखो वाण
आयो हृदय गर्नु भेदन,
एकै चोटि कोटि तीरले
गयो मानस छिया-छेदन ।
(९०)
भूलझै यो हलुका मेरो
मानस भो एउटा
जीवनमा अब जीत कहाँ त्यो
के वल दु:खको नमीठो हार।
(९१)
आह! पीडाको ज्वाला चम्क्यो
सारा विश्व गर्नु विनाश,
मानसको सब सुखको आशा
भष्म भई सब लाग्यो राश।
(९२)
बेचैनीको आगो लाग्यो
धूवा विषमय दु:खको छायो,
निस्सासिएर सुख औ शान्ति
मानस-डेरा छाड़ी भाग्यो ।
(९३)
पानी-हाँसको प्रणयी-जोड़ा
नदको छाती चिर्दै जान्छ,
गीतको लयमा लहर चंचल
विस्मृत सुखको सुर त्यो तान्छ ।
(९४)
बाली जुनकिरीले राँको
आफ्नो लघु जग उज्ज्वल पार्छ,
रजनीको अह! बाक्लो तम त्यो
ठूलो स्वरले मरी-मरी हाँस्छ ।
(९५)
तारकगणको नभमा फेरि
दीप-शिखा त्यो लहरै बल्दो,
त्यसको शीतल पाई राप
पीड़ामय त्यो मन भो जल्दो ।
(९६)
मृदुल पवनको पाई चोट
तरूणको पल्लव खट-खट गर्छ,
खट-खटको त्यो सुन्दा आहट
हाई ! मानस यो झस्कन्छ ।
(९७)
शशिको चारू ज्योत्स्ना जब त्यो
लुकी-लुकी कुंजभित्र चियाउँछ,
आँखमिचौली अघिको हाम्रो
मनमा याद बनिकन आउँछ ।
(९८)
मनमा दुःखको बादल उठ्छ
आँसु भैकन अविरल खस्छ,
यो वर्षाको शीतलताले
शुष्क याद त्यो हरियो हुन्छ ।
(९९)
गर्मी यादको जब भो भारी,
मन-सागरमा कु इरो उठ्छ,
दुर्दिनको अघि पर्दा चोट
दुःखले आज मोती खसाल्छ ।