लड बीरबहादुर ! तिमी लड !! / विकाश गोतामे
म तिम्रो आवाजमा आफ्नो आवाज थप्न चाहन्छु
म तिम्रो मुठ्ठीमा अर्को मुठ्ठी उठाउन चाहन्छु
बाँच्नुलाई म मर्नु चाहन्छु
मेरो प्यारो साथी बीरबहादुर !
म पनि तिमी जस्तै लड्न चाहन्छु !
गालीले पाकेको तिम्रो कानसम्मलाई मेरो आवाज पुग्न सकोस्
थिचाईले थाकेको तिम्रो मस्तिष्क सम्मलाई मेरो ‘ चियर अप ‘ थुरिन पुगोस्
मेरो ‘ चियर अप ‘ – बीरबहादुर लड्दै बढ !
मेरो ‘ चियर अप ‘ – बीरबहादुर तिमी लड्न नछोड !
लड बीरबहादुर ! तिमी लड !
कान्लाहरुबाट कत्ति फालियौ
अब भित्ताहरुलाई ‘ च्यालेन्ज ‘ गर
खेतहरुमा कत्ति दलियौ
अब आरामहरुलाई दल्न तम्स
तम्स – लह लह अन्न बालीको सपना आफ्नै होस् भनेर
तम्स – पाखुरीको ताकत र औकात आफ्नै होस् भनेर
बाँझो खेतका ढेलाहरु फरुवाले होइन तिमीले मिलाएको हुनुपर्छ
हिलो खेतमा दलदल सबै फ्याउरीले होइन तिमीले मिलाएको हुनुपर्छ
त्यसैर तम्स बीरबहादुर
तिमी अकल बहादुर पनि हुनुपर्छ
तिमी धनबहादुर पनि हुनुपर्छ
काँचको झ्यालमा मखमली पर्दा हेरेर शीर निहुराउनु हुँदैन
भुँडीहरुलाई सलाम गरेर मेरो प्यारो बीरबहादुर केही बन्दैन
बरु झ्यालहरु तोड्नुपर्छ
बरु भुँडीहरु फोर्नुपर्छ
चाहिए तिमीलाई यो जिउ ज्यानै हाजिर छ बीरबहादुर तिमी लड !
लड बीरबहादुर ! तिमी लड !
कोहिनूरको मुल्य कत्ति होला र
तिम्रो निधारबाट चुहेको एक बुँद पसिना भन्दा
ताजमहलको महत्त्व के होला र
तिम्री सुत्केरी स्वास्नी गाडेको चिहान भन्दा
खेतका पानाहरुमा हलोको फालीबाट लेखिन्दै मेटिन्दै
कत्ति अमर कृतिहरु सिर्जना भइसके तिमीलाई पत्तै छैन
सायद मोनालिसा कोरीसक्यौ तिमीलाई पत्तै छैन
इतिहासको मोनालिसा हेर्न संसारै झुम्मिन्छ्न्
तर तिम्रो मोनालिसाको चिहानमा सायद तीतेपाती फूलिसके
त्यो पनि तिमीलाई पत्तै छैन
पत्तो पनि के हुन्थ्यो र बिचरा बीरबहादुर !
दुइ तल्ले घरको पत्तोमा आफु दिनदिनै बेपत्ता भइसक्यौ
यसरी आफैलाई हराएर नबस बीरबहादुर
तिमी उठ ! जाग ! बिउँझ !
तिमी इतिहासमा क्रूर भन्दा क्रूर पनि हुनसक्छौ
तिमी बीरमात्र होइन शूर पनि हुनसक्छौ
एकपल्ट तिमीले आफ्ना दायाँ बाँयाका पर्खालहरु भत्काउनुपर्छ
एकपल्ट तिमीले यो बस्तीमा डडेलो सल्काउनुपर्छ
बरु भन्छौ भने बीरबहादुर
तिम्रो निम्ति यो जीउ ज्यानै हाजिर छ
उठ बीरबहादुर ! तिमी लड !
म बुझ्छु तिमीले धारा मांगेका हौ मुहान सुकाउन होइन
म बुझ्छु तिमीले घर मांगेका हौ महल रित्याउन होइन
मेरो एउटा तीखो व्यंग्य छ बीरबहादुर तिमीलाई नरिसाऊ तिमी
भन त तिम्रो छोरा कहाँ छ ?
पब्लिक स्कुलमा ?
कि सियोमा मकैको बीउ छर्दैछ ?
तिम्री छोरी कहाँ छ ?
होस्टेलमा ?
कि बनमा दाउरा खोज्दैछ ?
तिमीले दुनियाँ चिन्यौ
तर आफ्नो औकात चिन्नसकेनौ
यसैले बीरबहादुर तिमी गतिलो आवाज गर
डन्लपमा छेर्नेहरु हजार हुन्छन्
तिमी आफ्नो मुठ्ठी उठाऊ
बाटो छाडी किनारा लाग्नेहरु सयौं हुन्छन्
आखिर खेतहरु जस्तै
पूलहरु जस्तै
मोटर गाडी र हावाजहाज जस्तै
यो बाटो पनि त तिमीले नै बनाएका हौ
बाटो नबनाउनेहरु किनारामै हिंडुन्
तिमीले बाटोमा हिंड्न पाउनुपर्छ
तिमीले बाटोमा दगुर्न पाउनुपर्छ
यसैले भन्छौ भने बीरबहादुर
म तिमीमै समाविष्ट हुन्छु र एउटा हुंकार दिन्छु –
लड बीरबहादुर ! तिमी लड !
खेत रोप्ने बीरबहादुरको खेतै छैन
यो खेतबारीको दोष होइन
बाटो बनाउने बीरबहादुरलाई हिंड्न बाटै छैन
बीरबहादुरको राहु केतु बिग्रेको होइन
यसैकारण बीरबहादुर तिमी आँखी झ्यालबाट संसार हेर्ने कोशिष नगर
बरु खुल्ला संसारमा उभेर
आँखी झ्यालबाट कसले हेर्दैछ चिन्ने कोशिष गर
तिम्रो बल बर्कतमा कसले राल चुहाँउदैछ चिन्ने कोशिष गर
तिम्रो जीउको मासु कसले चोरी लाँदैछ चिन्ने कोसिस गर
तिमीलाई खुशामद गर्न आउनेहरुसित पनि तिमी होशियार बस
बरु तिमी कसैलाई माया नमांग
बरु तिमी कसैलाई दया नमांग
सहानुभूति नमांग
सान्तवना नमांग
मांग्छौ नै भने बरु रोटी मांग
लुगा मांग
घर मांग
मांग्नलाई बरु भाषा चाहिन्छ भने बीरबहादुर
म तिमीलाई भाषा दिन्छु –
लड बीरबहादुर ! तिमी लड !
बेहद बेइमानहरुले तिमीलाई ईमान्दार भने
तिमी त्यसैमा मक्ख पर्यौ
दुनियाँले तिमीलाई सोझो भन्यो
बाङ्गो नभई तिमीले छोराछोरीको पेट काट्यौ
बीरबहादुर तिमीले पूल बनायौ
बलबहादुर तिमीले कारखाना बनायौ
तर संगमर्मरमा कुनै ठग राजनेताको नाम लेखियो
तिमी यत्ति इमान्दार र सोझो भयौ
कि आङभरी नीलडामहरु बोकेर प्रहरीलाई प्रणाम गर्यौ
अनुहारभरी तिरस्कारहरु बोकेर बेइमानहरुलाई हजुर भन्यौ
हेर बीरबहादुर, यो खुल्ला आकाश तिम्रो हो
तर आकाशमा उड्ने जहाज तिम्रो होइन
यो फाँटिलो सडक तिम्रो हो
तर सडकमा गुड्ने मोटर तिम्रो होइन
यसैले तिम्रो सोझोपनमा मलाई चित्कार गर्न मनलाग्छ
बीरबहादुर मलाई चिच्च्याउन मनलाग्छ
बरु तिमीलाई म मेरो भूत वर्त्तमान भविष्य दिन्छु –
लड बीरबहादुर ! तिमी लड !
बीरबहादुर गाइने !
तिमी पृथ्वी नारायणको बीरता सारंगीमा नगाऊ
जब कि तिम्रो न त पृथ्वी छ न त नारायण नै
बीरबहादुर मांग्ने !
तिमीले राम राम भन्नु व्यर्थै छ
जब कि दुनियाँले तिमीलाई हराम ठान्छ
तिमी जान्दैनौ दुनियाँ स्वार्थी छ भनेर ?
स्वार्थको निम्ति यहाँ कसले के गर्दैन र ?
स्वार्थको निम्ति ढुंगालाई मिठाई खुवाउँछन्
ढुंगालाई दूधले नूहाउँछन्
ढुंगालाई फूलले सिंगार्छ्न्
अनि आफ्नो मन ढुंगा बनाउँछन् ।
यहाँ त तिमीले आफ्नो रोटी खोसेर लिनपर्छ
यहाँ त तिमीले आफ्नो गाँस लडेर लिनपर्छ
लड्नलाई तिम्रो मन हिच्किचाँउछ भने
म मेरो सिङ्गै जीवन तिमीलाई दिन्छु –
लड बीरबहादुर ! तिमी लड !
सह ! सह तिमी भारी प्रताड्ना सह !
तर तिम्रो उद्धारलाई नृसिंह औतार छैन
बरु तिमी बामन भएर
बलीको निधार जबरजस्ती कुल्चनुपर्छ
कुबेरको धन जबरजस्ती हडप्नुपर्छ
बीरबहादुरले बनाएको बली
बलबहादुरले बनाएको कुबेर
लाखौं भाग काटेर राजत्व सुरक्षालाई दान बाँड्छ
लाखौं मुख काटेर पुण्य कमाउन दान बाँड्छ
यसरी आज यहाँ कि त महान हुनलाई
कि त राजा हुनलाई
देवता हुनेहरूको भीड छ।
दुनियाँमा हज्जार देवता छन्
तर बीरबहादुरको कुनै देवता छैन
मन्दिर, मस्जिद, गिर्जा र गुम्बा छन् दुनियाँभर
तर बीरबहादुरको बस्ने घरै छैन
शंख-घण्टा बज्छ्न् सबैतिर साँझ-बिहान
तर बीरबहादुरको र उसका छोराछोरीका पेटमा सारंगी बज्छ्न्
बीरबहादुर !
तिमीले फूलाएको फूल चुँडेर लान्छ अरुले
र मन्दिरमा चडाउँछन् तर पुण्य तिमी पाउँदैनौ
तिमीले फलाएको फल टिपेर लान्छ अरुले
र देवतालाई खुवाउँछन् तर देवता तिमीप्रति रिझिन्दैन
यसैर बीरबहादुर !
न त तिम्रो तीर्थस्थान छ न त देवता
बरु तिमीसित हलो, हँसिया र कोदाली छ
अनि लड्नलाई बलिया दुइ पाखुरा छ्न्
यसैले म तिमीमा आत्मसात भएर भन्छु –
लड बीरबहादुर ! तिमी लड !
बीरबहादुर लड !
हार्नलाई तिमीसित केही छैन
गुमाउनलाई तिमीसित केही छैन
तर जित्नलाई सारा संसारै छ।
यो आकाश र पृथ्वी तिम्रो हो
यो प्रकृति र परिवेश तिम्रै हो
यहाँ तिम्रो विजय निश्चित छ
यसैले तिमीलाई मेरो जीउ ज्यानै दिन्छु –
लड बीरबहादुर ! तिमी लड !