भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लालबन्दी / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


लालबन्दी*
 
गर्मीको ताप/उत्तापले
धपक्क बलेको छ
धुलोको साम्राज्यभित्र
विक्रम टेम्पोको धुवाँमिश्रित तातो हावा
अप्ठेरो मान्दै सास फेर्छ
लालबन्दी।
 
टमाटर र तरकारीजति सहरतिर पठाएर
नुनसँग उसिना चामल
किक्लिककिक्लिक निल्छ
प्रत्येक सोमबारे र बिहीबारे हाटमा
रक्सी, माछा र खसीबोकाको समवेत गन्धमा
नमिठो गनाउँछ
लालबन्दी।
 
कहिले स्कुले झोला बोकेर
सिनेमाघरतिर लागेका
देशका कर्णधार देखेर जिब्रो टोक्छ
कहिले कलम समात्नुपर्ने हातले
तराजु समातेको देखेर सास रोक्छ
लालबन्दी।
 
लालबन्दी
केही कृतहस्त हातहरू खोजिरहेछ
कर्मयोगीहरूको सिङ्गो जमात खोजिरहेछ
युगौँदेखि आजसम्म उन्नति खोज्न धाइरहेछ
निरन्तर इच्छाहरूमा नवसिर्जना गाइरहेछ
सट्टामा केही भएको छैन
गोल्छाछेउबाट आज पनि डुमडुमे*
ठुस्स गनाइरहेछ
लालबन्दी।


  • सर्लाही जिल्लाको एक प्रसिद्ध बजार ।
  • लालबन्दीस्थित सानो खोला