Last modified on 28 जुलाई 2017, at 23:22

लाहुरे पुरुष / विमला तुम्खेवा

 
लाहुरे पत्नीको उदास अनुहारजस्तै
बेढङ्गले बित्दै जाने
दिनहुँका बिहानहरु
मलाई तिम्रो सम्झनामा दख्ने गर्छ

मनहरु
सुहागरात मनाइरहेछन्
लासहरुमाथि .......
प्रेमको कुनै सिमाना नभएझैँ
पीडाको पनि कुनै देश हुँदैन रहेछ
यी चिहानजस्ता
लाग्ने मान्छेका भीडहरुमा
कति शताब्दियौँदेखि
म देश खोजिरहेछु / भेष खोजिरहेछु

आऊ
आजैदेखि फूलहरु रोपेर
हामी एकताको कविता लेखौँ
आजैदेखि
भूगोलको छातीभरिभरि
प्रेमको रङ्ग भरौँ
भैगो —
आस्थाका कुराहरु छोडिदेऊ
खै त हामी मान्छे भएर बाँच्न सकेका
न्यायको सदनभित्र
कविताले आत्महत्या गरेको धेरै भयो
आऊ —
मृत्युको विरूद्ध जीवन बाँचेरे हेरौँ
रङ्ग हरुसँग रङ्ग घोलेर हेरौँ
आऊ
आजैदेखि एकताको फूलहरु रोपेर कविता लेखौँ ।