भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लेटाङ–फडानी / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


खोलाको वारि खोलाको पारि घाम र जूनमा
फडानी गीत गाउँछ मीठो सुरीलो धुनमा ।

शीतल छरी धोबिनी पाखा चुलिन्छ मायाँले
तुफान आँधी छेक्तछ उठी वनका छाँयाँले ।

वनको छेउ धनको लेउ आयको मुहान
शान्तिले आँखा खोल्दछिन् यहाँ प्रत्येक बिहान ।

सम्झना सधैं मनमा हुन्छ श्वासमा वासना
सपना मीठा जन्मेर फुल्छन् षोडशी आसमा ।

मनको कुरा आँखाले बोल्छ नाच्तछ आँखामा
जुन्किरी दीप बाल्दछन् सधैं अँधेरी रातमा ।

सिर्जना सधैं अमर हुन्छ,
दिलको वह दिलले छुन्छ,
सपना सृष्टि बनेर उठ्छन् हरेक प्रातमा ।

फडानी मेरी आँखाकी जून निर्मल चञ्चल
प्रीतिका आँखा उघारी हेरे देख्तछु कल्कल ।
नौडाँडा पारि बसेर वास गाउँलाइ हेर्दछु
धर्तीको छेउ सुनौलो देख्छु
सबैका आशा फक्रेको देख्छु
मैलाइ सम्झी हाँसेको देख्छु सुखी भै फिर्दछु ।

गोरेंटा बढी सडक बने सफेद कंक्रिट
बगेका तार आकाश माथि प्रकाश अङ्कित ।

बलेको देख्छु झल्मल बत्ती औंसीको रातमा
शान्तिका जोडी परेवा बास्छन् घुर्घुर प्रातमा ।

आँगन छोई चाँदीका बाटा गाउँलाई जोड्दछन्
चौखुरे गाडी सलल बग्छन्
पैँनीमा पानी आँचल–नाच्छन्
सिँवीका लामा आँकुरा उठी गाउँलाई बेर्दछन् ।

हँसिया कुटो कोदालो साथी हलो र फालीमा
जीवन सधैं नाचेर हिंड्छ खेतका आलीमा ।

गहुँका बाला बहेली खेल्दा सिर्सिर हावामा
नाचुँ झैं लाग्छ पखेटा हाली सुसेली कावामा ।

सिर्जना सिल्पी कलाका धनी मनका प्यारा जन
फडानी जस्तै नेपाल बनोस् कृषिको उच्च धन ।