भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लेन्डुपहरु / कृष्ण प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

देशमा विभिषणहरू ज्यूदै छन्
देशमा जालन्धरहरू पनि छन् ।
जे जति अर्जुनहरू छन्
ती अब कुनै हालतमा
कृष्णको वहकाउमा
युद्ध लड्न चाहदैनन् ।
र पश्चतामको भाषामा
उल्टै सम्झइरहेछन् कृष्णलाई
फेरि अर्को युद्धको तयारी
अब कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको
उनले चाहेका भए
विगतमा पनि
युद्ध टाल्न सकिन्थ्यो भनेर
निरीह धृतराष्टहरूले
पहिला पनि कहाँ सिमाना देखेका थिए र ।
यसर्थ
सञ्जयहरू पनि हड्तालमा जुटेका छन्
उनीहरू अब
कुनै अन्धाको पाउभक्तिमा
आफ्नो समय उत्सर्ग गर्न चाँहदैनन् ।
चाँहदैनन्
पुत्र मोहको नाउँमा
एउटा सिङ्गै सभ्यता नासियोस्
दाउको राजनीति छोडेर
सकुनी पनि सुधि्रएका छन् ।
सभ्यता टिकिरहनु पर्छ भनेर
दुर्योधन सत्सँगमा भिजेका छन् ।
इच्छा छैन कसैलाई
अब कुनै युद्ध चम्कियोस
र खरानी बनोस् कुरुक्षेत्र ।
म चौतारीमा बसेर
तल हेरिरहेछु
मेरो देशमा
हस्तिनापुरमा नभएका
केही लेन्डुपहरू छन्
केही लेन्डुप हुन खोज्दैछन्
भरखर जन्मेका केही लेन्डुपहरूलाई
साना नानीहरू –
पुतला बनाएर जलाउँदैछन् ।