वन-समारोह / ओकिउयामा ग्वाइन
निशीथ-निकुञ्जमा तारकापुञ्ज
भएछ अवलुप्त
रविको रथ अब आगत
जाग है जीव “उत्तिष्ठत जाग्रत “ !
भएछ बिहान विभोर वनका हरित्-प्राण
आम्रशाखामा मञ्जरी चियाउँदै
धरणी-धरातल चारैपट्टि मालती छर्दै
मृदु आलोकको उछ्वासलाई
प्रेम स्पृहोको कम्पन जसो
दिदै छ फैलाई लास्यमय सुगन्धित घ्राण ।
शाल्मल वनका पल्लव-पल्लवमा
दूर्वादलका शिर-शिरमा
नीहार-कणिकाका उज्ज्वल थोपामा
अहिलेसम्म हेर, रहेछ झुन्डिएर
निशाको शेष-वीणाको निसा<ref>निसा- नशा, मात, ।</ref>
हेर ऊ दिशा पूर्व-प्राङ्गणमा
दिग्वलयछेउ
उत्तर पश्चिम दक्षिण दिशामा
वृक्षशिखाका शिखामाथिमाथि
अनुदय रविको रथको प्रभामा
म्लान रश्मि-राशि भिक्षा-मुद्रामा
विनति गर्दै छ कस्तो विनीत भएर-
हेर है प्राण,
आज अभूत प्रभात
जागेछ कस्तो उतावली गरेर
चिरदिनको ‘दिवस-आशा’ ;
चम्पक-वनमा पुष्प-पल्लवमा
केतकीका रेणु-शिहरणमा,
जाई, जुही, इन्द्रकमल, अनि चमेलीका
सुन्ध-कम्पनमा
मन्द-मन्द धींर गति तरणी ख्याई
आउँदै गर्दै छ प्रभात-प्रभा
शाल, ताल, तमाल, हिन्ताल अनि
देवद्रुम-शिखरमाथि
अति दूर, शुभ्र मेघ-मालिका उनेर
जाँदै छ उडेर
-आकाशान्तर,
बाँकी रहे खालि, वनभालमा
बालारेकको रक्तिम तिलक
अनि, वन-समारोह-मेला ।
पक्षिकलरवले
मुखरित समूह वन
प्वाँक फैलाई हुँदै छ मयूर-नर्त्तन
अनि क्रोञ्च-कूजन
पूर्वी पवनमा उडेर आउँदै छ
दूरान्तदेखि ललित रागिणी
वन-सभामा-
द्वदार-द्रुमको शरीर बेह्री
द्राक्षा-लतिकाको अन्ध अंशु
धाउँछ ज्योतिका सन्धानमा
रौद्रको पाल टाँगी
तरी जान्छ तपन-तरणी
आकाश-समुद्रमा
कुन चाहिं अन्धकार
देशको दिशामा ।