भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
वसन्त / वसन्त चौधरी
Kavita Kosh से
विचित्र छ अक्षरको बगैचा !
पल्लबितै नभए पनि बोट,
ग्रीष्मको आगोमा
हाँस्दै टुप्लुकिन्छ वसन्त,
जाडोको कहालिँदो कठ्याँग्रो नै चिरेर
प्रकट हुन्छ,
अनायास वसन्त !
अनेक भए पनि ऋतुको नाम,
साँझ-बिहान कुनै पनि याम
लाग्दै गर्छ यो बगैचामा
वसन्तको मेला
अनन्त अनन्त !
कस्तो मिठोपन !
संजोगको हाँसोमा भन्दा
विरहको आँसुमा
झन् झन् मधुमय हुँदोरहेछ
वसन्त !
यदाकदा
आँधीहुरीको
प्रलयँकारी बबन्डरमा पनि
झस्काउँदै
तडितको रूपमा
तडकारिन्छ वसन्त !
यौटै छ ढुकढुकी,
मेरो अन्तस्करणको -
समाधिस्थ योगीको दिव्य मस्तकतुल्य
वसन्तमय होस् यो बगैचा -
यो अक्षरको बगैचा -
जगाउँदै जीवन-जगत्
किट-पतंगपर्यन्त
पल-प्रतिपल
अविरल, अविराम !
अनन्त ! अनन्त !!