विचार, सालिक र एकाकार / राजेश्वर कार्की
साँझ झमक्क परेपछि—
त्यो आदिम बस्तीमा उनीहरू आए
र विचारको खेती गरे
बस्तीका मानिसहरू
आगन्तुक विचारको पछि लागे
उज्यालो भयो—
बस्तीमा विचारको हरियाली छायो
बस्ती शान्त र सुन्दर देखियो
लेखिएका विचारहरूले भित्ता र पर्खालहरू चित्रमय भए
विचारकै रङ्गजस्ता घरहरू अग्लिए
बस्ती रङ्गमय भयो
देउराली–भन्ज्याङमा विचारकै हावा चल्थ्यो
चौतारीको छायामा विचारकै शीतलता हुन्थ्यो
त्यस बस्तीका पुल, कुलोर कुलेसाहरू सबै
सत्यमा विचारकै निकास थियो
बस्तीमा पुल जता थियो
मान्छेहरू त्यतै हिँड्थे
कुलो–कुलेसाहरू जता बग्थे
मान्छेहरू त्यतै लाग्थे
बस्ती विचारले सम्पन्न भयो ?
मध्याह्रनमा—
हेर्दाहेर्दै विचार फैलाउने मानिसको भव्य सालिक उभ्याइयो
चुपचाप मानिसहरू सालिकको पूजापाठ गर्दै रहे
उनीहरूले त्यही संस्कारलाई
आफ्नो सभ्यता बनाउँदै लगे
फेरि साँझ पर्योद—
शान्त बस्तीमा एकाएक अर्को ठूलो विचारको हुरी चल्यो
बालुवा–माटोका कणदेखि पतकरहरूसम्म पछि लागे
विचारको द्वन्द्व बस्तीभरि फैलियो
द्वन्द्वमा दुई विचारको अहम् टकराउँथ्यो
सपना देख्ने आँखामा चट्याङ पथ्र्यो
विचार, बस्तीको रूख–रूखमा पनि झुन्डिएको थियो
उक्त बस्तीका पाखा, पखेरा, रूख, ढुङ्गा, माटोबाट
विचारकै बास आउँथ्यो
बस्तीमा रात पर्योआ—
पहिलो विचार सङ्कुचित बुझियो
मध्यरातमा—
सङ्कुचित विचार राख्नेको सालिक भत्काइयो
बस्ती क्रान्तिमय भयो
विचारले मान्छे बृहत् भए
तर बस्ती अत्यन्त साँघुरो भयो
अर्को विचार लेख्ने ठाउँ बस्तीमा बाँकी रहेन
किनभने विचार मानिसको मनमा नलेखेर
बस्तीका ढुङ्गा, माटो, भित्ता, पर्खाल र रूख–रूखमा लेखिएको थियो
यो रात—
म विचारको औचित्य खोज्दै
नौलो बिहान पर्खिरहेछु… ।
जसरी उज्यालोमा अन्धकार विलीन हुन्छ
उसै गरी भिन्न–भिन्न विचार राख्ने
सबै आत्माको एकाकार बिन्दु खोजिरहेछु… ।।