भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विभ्रम र नयाँ वर्ष / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
भिडन्तपछि भिडन्तको नियति
समयको हारमा समयकै जितको घटनाचक्रबिच
एउटा अनिच्छित पाहुनाजस्तो
रक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दै
बस्तीमा पसेको छ नयाँ वर्ष।
 
कालो आतङ्कको छाया ओढेर
सन्त्रास निदाएका मान्छेहरू भयग्रस्त सुनिरहेछन्
टक... टक... का पदचापहरू
रक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दै
बस्तीमा पसेको छ नयाँ वर्ष।
 
खग्रास आँखाहरूमा
सुनाखरी फक्रन नसक्नुको व्यथा
छ्वास्स नुन छर्कन्छ आलो घाउमा
बुढ्यौलीमा भाँचिएको लौरोको अवशेषसम्म नपाउनुको प्रारव्ध
झिम्कन बिर्सेका आँखासमेत
शोकाकुल हेरिरहेछन्
रक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दै
बस्तीमा पसेको छ नयाँ वर्ष।
 
आवागमनको अन्तरालमा
आउनुको भ्रम र केवल जानुको यथार्थजस्तो
अविश्राम ताण्डवहरूको योग नयाँ वर्ष
निर्माणको आशमा भत्किएर खण्डहर बनेका
दिवास्वप्नहरूको भग्नावशेष नयाँ वर्ष
फगत् सपनाहरूको एउटा भुलभुलैयाबाट
अर्को भुलभुलैयामा टेक्नुको विवशता लम्पसार छ
निर्विकल्प साक्षात्कारको तयारी गर्नै छ/गर्दै छु
दिग्विजयी दावानलझैँ मअघि ठिङ्ग उभिएको छ
फेरि अर्को नयाँ वर्ष।