Changes

घोडा नमार / कुन्ता शर्मा

7,099 bytes added, 09:36, 9 अक्टूबर 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

पर्ख
उज्याएको हतियार तल झार
घोडाको वध नगर
नभत्काऊ रथहरू
सारथी निकम्मा भए परिवर्तन गर
तर घोडाको वध नगर
कृपया घोडा नमार

निरङ्कुशहरूको अस्तबलबाट
ठूलो जुक्ति र बुद्धि पुर्यारएर
धेरैले मृत्युवरण गरेर
अङ्गभङ्ग, सर्वाङ्ग भएर
यो घोडा मुक्त भएको हो
घोडा हिँडेन डुलेन
घोडाले गन्तव्य भेटेन
दोष यो पटक्कै होइन घोडाको
त्यसैले घोडालाई पुनः कसाहीलाई नसुम्प
बरू खोस लगाम दुष्टहरूको हातबाट
तर घोडाको वध नगर
कृपया घोडा नमार

कुरो के हो ?
कतै घोडाको बँधाइछदाइ नमिलेको हो कि
या खुरहरूमा कीलाकाँटी बिझेको हो कि
या विषाणुहरूले क्लान्त बनाएको हो कि
अध्ययन गर सूक्ष्मतर ढङ्गले
हतास नहोऊ, निराश नबन
निकास खोज
उपचार गर घोडाको
तर घोडाको वध नगर,
कृपया घोडा नमार ।

रगतका तालहरूमा डुबेर
प्राप्त यो टाँगन घोडालाई
नमास अस्तबलको शोभालाई
बरू खोज समस्या खोज
समस्याको समाधान खोज
कहाँ–कहाँ छन्, केके छन्
व्यवधान खोज
सवार भएन, फेर उसलाई
व्यवहार भएन, खेर उसलाई
उत्तेजित नबन
तर घोडाको वध नगर,
कृपया घोडा नमार

सल्किरहेको छ आगो असन्तोषको
दन्किरहेको छ डढेलो विरोधाभासको
हजारौँहजार आँखाहरूका सपनाहरू चौपट भए
लाखौँलाख मनहरूका आकाङ्क्षाहरू आहत भए
पितामहहरू सत्तालिप्सामा मस्त भए
दुर्योधनहरू
कपटको जालो बुन्नमा व्यस्त भए
भिजेका बिरालाजस्ता भएर
विदुरहरू बोल्नै नसक्ने भए
शकुनिहरू एकाग्र भएर
षड्यन्त्रको योजना बुन्दै गए
सपनाहरू सबै खरानी भए
तर पनि आत्तिने बेला छैन
विस्थापित गर सवारलाई
तर कृपया घोडाको वध नगर ।

लिस्नो लगाइएको छ दुष्टहरूका लागि
उफ्रिरहेका छन्, कुदिरहेका छन्
वर्षौँवर्ष रगतपसिनाले निर्मित
ओतहरू भत्काइरहेका छन्
सिस्नो लगाउँदै छन् इमान्दारहरूलाई
तिनीहरू आहत छन्, दुःखित छन्
के गरौँ कसो गरौँले द्रवित छन्
हो, सोचेजस्तो छैन परिवेश
खोजेजस्तो छैन देश
तर पनि हरेस नखाऊ
लगाम खोस घुडसवारबाट
तर घोडाको वध नगर,
कृपया घोडा नमार

मनहरू सुकेका जङ्गलजस्ता जर्जर छन्
तीव्र असन्तुष्टि डढेलोजस्तो फैलिरहेको छ
तुवाँलोजस्तो खिन्नताले छोपेको छ मनहरू
शूलजस्तो पीडा कुदिरहेको छ छातीमा
धस्कँदै गएको छ अग्लो पहाड आस्थाको
होचिँदै गएको छ सग्लो हिमाल श्रद्धाको
आकाश कालो र धमिलो छ
कुदिरहेछन् थाप्लामाथि विद्युतीय तरङ्गहरू
मनोस्थिति धमिलो पानीजस्तो छ
परिस्थिति एकदमै उल्टोपाल्टो छ
तर पनि हार्न उचित हुँदैन
नीच मार्न उचित हुँदैन
उठ फालेर अकर्मण्यताहरू
नयाँ परिवेशको निर्माण गर
तर कृपया घोडा नमार ।

जे–जस्तो भए पनि
परिस्थिति उबडखाबड भए पनि
थाक्नुहुँदैन पैतालाहरू,
हार्नुहुँदैन मनहरू
समाधान हुँदै जालान्
समस्याका वक्रताहरू
धैर्य गर प्रतीक्षा गर समयको
तर वध नगर घोडाको,
कृपया घोडा नमार

समय सधैँ ओथारो बस्तैन एकै ठाउँ
धमिलो पानी सङ्लिएर जान्छ, जान्छ
“खनी उकाली खनी ओराली” भन्छन् मानिसहरू
औँलाहरू गतिशील रहे
छेउको सियो माझमा पुगेरै छाड्छ
धैर्यको कवच ग्रहण गर अशान्त मनहरू
हाँक समयलाई अविरल चालेर पैतालाहरू
गतिशीलताले होचो गराउँछ
जस्तै अग्ला शिखरहरू पनि
छन् छन त
छातीभरि छटपटीहरू खपीनसक्नुका,
तर घोडाको बध नगर,
कृपया घोडा नमार
</poem>
Mover, Reupload, Uploader
9,789
edits