भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शब्दकोश / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णाली पारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले

कर्णालीमा शब्दकोश
केहि पानाहरु खाली छोडेर
प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ
जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै
छुटेको छ कर्णालीको नाम
अथवा कर्णाली
त्यही वियोगीकविजस्तो लाग्छ
जसले आफ्नै आँखाअगाडी
कविताले आत्महत्या गरेको देखेको छ
अथवा त्यो समयजस्तो लाग्छ
जसले देशलाई अश्लील गालि गरिरहेछ !

यो शब्दकोश
जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन्
यो शब्दकोश
जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन्
कसरी थाह पाउँछ
कि कर्णाली
कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ?
कसरी ज्यान दाउमा राखेर
विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ?
कति लामो लाइन लाग्छ खाद्य डिपोमा
सात किलो चामल वा एक पोका नुनका लागि ?

कसरी दशैं मनाउँछ
रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ?
यो शब्दकोश
जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् !

निश्चित छ
शब्दकोशको कुटिल सम्पादक
उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन
अझैसम्म लागिरहेकै छ उसलाई
कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको
र उसको सफलता
केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ !

कर्णाली
के तिमी चाहन्नौ
कि तिमीले गाइरहेको दुक्खको गीत
पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस्
र अब त्यस्तो शब्दकोश लेखियोस
जहाँ तिमीले
जीवनका किनाराहरुमा
भोकका लहरहरु लेख्नुनपरोस
अभावका लहरहरु लेख्नुनपरोस