भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शीतको मजा / रमेश खकुरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज जाडो भनी अन्त जाने भयौ
किन्तु यो शीतको मोज छोड्ने भयौ
जो मजा हुन्छ जाडो हुँदा के भनुँ
भन्नु धेरै थियो किन्तु थोरै भनूँ ।।

हुस्सुले डम्म आकाशमा ढाकिंदा
एक पर्दा गरी विश्व नै छेकिंदा
प्रेयका साथमा स्नेहले झ्याम्मिंदा
हुन्छ कस्तो मजा गम्म भै टाँसिंदा ।।

ओढनीमाथि अर्को थपी ओढनी
ओह आहा गरी शीत लाग्यो भनी
जो मजा हो त्यहाँ थर्किंदै गाँसिंदा
त्यो मजा के मिलोस् हप्प गर्मी हुँदा ।।

थर्थरी थर्किंदै पेय तातो लिई
हात गर्माउँदै सुप्प घुट्को पिई
वाह कस्तो मजा भन्नुको जो मजा
अन्त भेट्ने कहाँ यो मजा पो मजा ।।

शैलको टाकुरा प्रातको घाममा
चम्किंदा झल्झली शीतको याममा
देखिएको सुनौला जमेको हिउँ
दृश्य यस्तो कहाँ अन्त भेटी दिउँ ।।

शीत होस् वा कि गर्मी यहीं बस्तछु
देश नेपाल हेरेर नै मस्त छु
जे यहाँ भेट्छु ठान्दैछु यै हो मजा
चित्त भन्दैछ छोडी कतै भो नजा ।।