संझनाको पेगोडामा कृष्ण भूषण दाइ / सविता गौतम दाहाल
कफीनलाई सिकर्मीले खिपेको आफ्नो कविता, ठानेर होला
यता उता सारिरहदा, सकसकाएन तिमीलाई
आगोलाई दाउराले रचेको न्यानो कविता, मानेर होला
पोल्दा पनि दुखेन तिमीलाई
चुपचाप ज्ञानी, जता लगियो त्यतै गयौ
न कुनै विरोधको विम्व, न कुनै आवाजको अलंकार
मृत्युको शान्त छहारी, बुद्घसंग पुगेरै होला
सबैले जे चढाए, शब्द वा सयपत्री, स्वीकारेर
अमर भयौ दाई, तिमी अमर भयौ ।
संझनाका लहर, एक एक गर्दै उठीरहेछ
लहरमाथि लहर
र बनिरहेछ
संझनाको सुन्दर पेगोडा, र शब्द मंदीरको शिर्षमा सजिएको छ
तिम्रा फूलबुट्टे अक्षर, मनको पर्खालमा कुदिंएका छन्
अक्षर फूलका आजीवन माली
अमर भयौ दाई, तिमी अमर भयौ ।
तिम्रो साथमा बान्की मिलाएर
कसेको, वाधेको, पोको म अहिले फुकाउदिन
तिम्रा आर्शिवादको कथा म अहिले लेख्दिन
गहिराइको सागर वा सुदूर क्षितिज
तिम्रा संझनाको साचो वोकेर हिडीरहेछु
तिमीसंग सम्वन्धित शाब्दिक रत्नको संकलन यात्रा
चलायमान छु
प्रेरणाका अनगिनती उपहार बाडेर
अमर भयौ दाई, तिमी अमर भयौ ।
टिम्मुर र जिम्मुको मिठास
च्याउको स्वाद, इलामे चियाको मौलिकता
हरभेटमा माटोको सुगन्ध बुझाउने
वाचनकला बताउने, शब्दशिल्प सिकाउने
सबैमा अक्षर प्रेम बाडेर
अमर भयौ दाई, तिमी अमर भयौ ।