भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सङ्गीत-सङ्गीत / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मान्छे किन भो टिन झैँ खोक्रो ?
केवल काँचुली ? केवल बोक्रो?

वीणा जीवन उसले बुझेन,
सुरसा सङ्गीत एक बजेन,
हजार हवाले तारै टुक्रयो ।

मानवताको मुटु तुम्बा,
गुँज्नैपर्दछ सुरले गम्म,
मानिसप्रति भै मानिस आफू,
बज्नै पर्दछ लयमा झुन्न !!
कुइराहरुले तन्त्री बिग्‌र्‍यो,
भाइ स्वरले भाइ ठक्रयो !

मानवताप्रति मानवको ध्वनि
सागरप्रतिको जलकण प्रतिध्वनि,
जातिप्रतिको लयको रुनझुनि,
समष्टिसँगको सङ्गतिमय ध्वनि,
विकृत स्वप्नले बिग्‍र्‍यो ।

निश्चयताको शुद्ध प्रहार,
क्षणको कम्र्म र भावप्रसार
एकै लयका सुरक धार,
एकमुखी तर विभिन्न हजार,
मल्न नजानी झोक्रयो !

कलाकारको प्रतिभा देऊ !
क्षण क्षण सुर सब बटुली लेऊ,
‘मानवता’ यति लयको भेउ
मिल्छ भने यो जीवन सप्‍र्‍यो,
नत्र आखिर टिनझैं खोक्रो !
केव काँचुली, केवल बोक्रो !