सडक र सत्याग्रह / महेश मास्के
१. बिहान
सपनाको अंगालोबाट
बिस्तारै आफूलाई फुकाएर
उत्तेजनाको एक अस्फुष्ट कम्पन
आफूभित्र लुकाएर
भोरको प्रथम किरणसंगै सडक ब्यूँझन्छ
र आज पनि
छाती भरि शीत झै शुभकामना छरेर
आफ्नो आवाजमा
चराहरूको मिठो तान भरेर
सडक चलमलाउँछ
एउटा उत्सुकता झै
"स्वागतम सत्याग्रह"
२. दिउँसो
मध्याह्न घाममा
जीउभरी टाँसिएका अलकत्रा उप्काउँदै
मुख बाँउन आँटेको आलस्यलाई
बलजपत्ती एकातिर पन्छाउँदै
सडक गम्छ र अचम्म मान्छ
कस्तो सत्याग्रह हो यो ?
ट्याम्पो ट्याक्सी चलेकै छ
कार्यालय दुकान खुलेकै छ
घेराव गर्ने भन्थे
तर सत्याग्रहीको जत्था भेटिदैन
वर्दीधारीमा पनि
अस्तिको झै सतर्कता देखिदैन
सडक गम्छ र अचम्म मान्छ
तर पनि
पुलिसका वुटहरूले कुल्चिएर निस्सासिएको साँसमा
अलिकति आशा र अलिकति विश्वास भरेर
घामले टट्टिएको आँखालाई
पर परसम्म तन्काउँछ
एउटा प्रश्न झै
"अझै आउँदैनौ सत्याग्नह" ?
३. राति
ल्याम्पपोष्टको उज्यालोमा
परसम्म चुपचाप उभिएको मौनतालाई नियाल्दै
बास फर्केका चराहरूको चिरबिरमा
एकछिन आफ्नो थकित मनलाई भुलाउँदै
चकित विस्मित सडक
हेर्छ एकपल्ट अत्याचारको डामले विकृत भएको
यो देशको इतिहासलाई
र अर्को पल सम्झन्छ
हिजो मात्र देखेको परिवर्तनको मिठो सपनालाई
अनि, विरोधाभासको लामो अन्तरद्वन्दमा पिरोलिएको सडक
हठात हाँस्छ
कुनै नाटकको बास्तविकता खुलेझै
"ए......सत्याग्ग्रह
अर्थात सत्ताको आग्रह ?
०००