सडक र सम्भोग / विमला तुम्खेवा
आमाहरुको सपनालाई
दागबत्ती दिन मजबुर मनहरु आगो निलिरहेछन्
एउटा —
आत्मकथाको परिधिभित्र बाँधिएर उभिन
मान्छेलाई कति मुश्किल हुँदोरहेछ
म —
परिधि तोडेर बाहिर निस्कन चाहन्छु
कुरुप समयहरुले
असङ्ख्य–असङ्ख्य मनहरुको निर्मम हत्या गरिदिँदा
आँखाबाट खसेको आँसुको धारासँगै
क्रान्तिका लप्काहरु दन्किरहेछन् ।
म चाहन्छु जीवनमा
अब एउटा सुन्दर भविष्य साँच्न सकियोस्
म चाहन्छु जीवनमा
अब एउटा राम्रो कथा लेख्न सकियोस्
म लेखिरहेछु अहिले नराम्रो सपनाको संरचना
मान्छेलाई —
बाँच्नको निम्ति एउटा फराकिलो आकाश चाहिन्छ
मर्नको निम्ति आफ्नै देश
चाहिन्छ
भोकका जुलुसहरु —
समाहित छन् बर्बर मनहरुको विरूद्धमा
र म अभिलेख राख्न नसकिने
परिभाषाको सडकमा उभिएर मृत्युको प्रतीक्षामा छु
अथवा — हामीहरु छौँ
सर्वाङ्ग नाङ्गिएर
मरूभूमिहरुबीच हिँडिरहेको एउटा अनौठो सपनाजस्तो
आफैमा इतिहास हो जिन्दगी
कसरी —
मान्छेहरु मान्छेको मृत्युमा आफूलाई खुसी देख्छन्
म —
श्रद्धाञ्जलीको पुष्पहरु लिएर
आरोहित छु सगरमाथाको यात्रामा ।