भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सन्दिग्धताको परिधिभित्र / उमेश लुइटेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अनिमेष दृष्टिहरु उमेश लुइटेल
क्षितिजसम्म नपुग्दै टक्क रोकिन्छन्
धूवाँजस्ता जलकणका पर्दाको अवरोधमा ।

आर्द्रता बोकेर हावा सुइँय्य चल्यो
ठिङ्ग समकोठ उभियो मेरो छाया ।

मनमा सौहार्द र सहानुभूतिका उत्तोलक दबाउँदै
म मूक हेर्न खोज्छु
वरपरका कोपभाजित दृश्यहरु ।

धुमिल मुद्रामा निराशाका आभा चम्काउँदै
आकाशले एक दृष्टि शान्त तलाउमा चिहायो
आश्चर्य ! तारा र जून प्रतिबिम्बित थिएनन् पानीमा ।

गुलाफ पूर्णिमाको अस्तित्वमा
तेजाब घोलिएको आभास सोच्दै
सिरेटो परिवेष्टित मुटुहरु चल्छन्
ढुकढुक, मन्दमन्द स्वरसहित ।

बाक्लिरहेको तुसारो क्षेत्रबाट
आवाज उब्जियो उस्तै
निमोठिएका आशाका मुनाहरु
एकीकृत विज्ञप्ति उद्धृत गर्छन्
अचानक संवाहक बन्दै शीतलहर व्याप्त हुन्छ
पूर्ववत् भइरहन्छ वातावरण ।

अर्कै आकाशको ग्र्याण्ड डिजाइन उद्घोष गर्दै
टुक्रिन्छन बादलहरु यत्रतत्र
म मन मस्तिष्कमा सन्त्रासका बीज रोप्दै
चन्द्रमा र तारा खोजिरहन्छु ।

हावा फेरी सुइँय्य चल्यो
म थरथरी काँप्दै
मेरो अनि हाम्रो आकाश
गुमाइरहन्छु क्रमश: क्रमश : ।