भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सपनाको स्वर्णिम आकृति / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जबजब तिम्राबारे सोध्ने गर्छ
मेरो मनले मलाई
मेरो ढुकढुकीले दिन्छ जवाफ
यसरी –
 
पूरा हुन नसकेका
अनगिन्ती चाहनाको चितामा
फुलेको एउटै मात्र फूल
अथवा
दुनियाँको भिडमा हराउँदा
समातेर पाखामा तान्ने
अनुहारबिनाको हात
 
मान्छेहरूका भिडमा
एक्लो हुनुको डरबीच
कोही साथमा हुनुको आभास
अथवा
वरिपरि तेर्सिएका काँढाहरू बिच
माहुरीले ल्याएर छोडेको
वासन्ति पराग ।
 
दुःखका धूँवाहरूका बीच टल्किएर उठ्ने
सुखका केही झिल्कहरू,
अथवा
स्वार्थका लागि रचिने सम्बन्धहरू बीच
निःस्वार्थ साथको एक नदी
 
आँखा असार साउन बनिदिँदा
सान्त्वनाको स्वर बिना
आँखा पुछिदिने औंलाहरू
अथवा
निद्रा फुल्न नसकेका आँखामा
मौका छोपेर निमेषभर अडिएको सपनाको
स्वर्णिम आकृति
 
जबजब तिम्राबारे सोध्ने गर्छ
मेरो मनले मलाई
मेरो ढुकढुकीले दिन्छ जवाफ –
जीवनको निर्ममता बीचको खुशी
अथवा
सारा पीडा मेटाइदिने अधरको मुस्कान ।