समय: तिमी कति पानीमा छौ ? / पारिजात
सङ्कटकालीन स्थितिमा
सुस्केराजस्तो आवाज निकालेर
ब्यूँझाएँ तिमीलाई
डर थियो निद्रा खल्बलिएकोमा
कतै झर्किन्छौ कि तिमी
तिम्रो पाइतालामा बिझेको
काँढो झिक्नभन्दा पहिले
समान कष्टको अनुभूति होस् भनी
आफ्नै पाइतालामा
पहिले सियो घोचेर हेरेँ,
ज्याला कमाउन होइन
सहभागिताको मर्यादा खातिर
कोसौँ तिम्रो बोझ बोकेर हिँडेँ
प्रतिदान स्वरूप
सत्यताको पछ्यौरीमा
केही खस्ने समय
आएको छैन क्यारे !
मनभित्र आँसुको दियो बालेर
श्रमदान गर्नेहरूको निधारमा
टल्किरहेको पसिना पुछिदिने
हातहरू शायद
स्थिर भइसकेका छैनन् क्यारे !
म अकारण दुःखी हुँदोरहेछु
प्रश्नै नसोधी
संवेदनशीलताको बोट
कति हुर्क्यो कति हुर्केन भनी ।
ओल्टेकोल्टे दुवै
काँढाको बिछ्यौनामा सुत्नेलाई
न्यायप्रेमी सजायँ दिन्छ भने
प्रश्न सोध्न अनिवार्य हुन्छ
कि समय !
तिमी अहिले कति पानीमा छौ ?
एकाएक पानी जम्छ र !
एकाएक वाफ बनेर उड्छ र !
कहाँ एकैचोटी फूल फुल्यो !
कहाँ यसै बज्र खस्यो ?
आखिर भेट हुने पुल हालेरै हो
तिमी र म
खुड्किलाहरू बन्ने सुरसार छैन
म बिनसित्ती पल्लो किनाराको
जलधार हेरेर बस्दोरहेछु !
आँखाको आकाशभित्र कतै
यसरी बादलका दुःखहरू
ओइरिन थाल्दारहेछन्,
शायद वर्तमानले जन्माएको यथार्थ हो यो
तरै पनि आँखाहरूले पल्लो किनाराको
जलधार हेर्न कहिल्यै छोड्दैनन्
सत्यताको पछ्यौरीमा पक्कै केही खस्ने विश्वासमा
श्रमदान गर्नेको उदास ओठमा मुस्कान फुल्ने विश्वासमा ।