सरु / सन्तोष थेबे
सरु
हामी त कस्तो है
जाबो माया पनि गर्न जान्दैनौँ
व्यर्थै भएछ ऐसेलुको झ्याङ्
तितेपाती र कालीझार पनि
बरु वाचा नगर्नु पथ्र्यो—
आखिर नलाग्ने माया
आखिर नहुने वाचा
सब व्यर्थ भएछन्
सरु
साँगुरीको बेसुरे हुस्सुको एक टुक्रा जति पनि अर्थ रहेन अब ।
सायद गल्ती यहि नै भयो
हाम्रा मौनताहरु लाछी कायर थिए
अकमक्क परेका आँखाहरु झुठ थिए
अनायास फुस्केका ओठहरु जाली फटाहा थिए
हामीले नबोलेर गरेको वाचा व्यर्थ भएछ
हाम्रा साक्षीहरु व्यर्थ भएछन्
यस्तै हुँदो रहेछ सरु
मनको भाका नबुझ्ने बच्चाको तिर्सना, भोकप्यास
अब त्यसको पनि अर्थ छैन ।
जे होस्
तिमी मलाई मन परेको मान्छे हो
तिमीलाई म धेरै माया गर्छु
तरु सरु,
मान्छेहरु डाहा पनि गर्दा रहेछन्
हिजो म रातभरि जलिरहेँ
थाहा छ सरु
डाहाको आगो त झर्झराउँदो अगुल्टोजस्तो हुँदोरहेछ
भुस भएर मन जल्न निकै कष्ट हुँदोरहेछ
मनमा पहिरो जाँदा
चेतनाको पहाड थर्किँदोरहेछ
सब व्यर्थ छन् अब त्यसको पनि अर्थ छैन ।
मैले तिमीलाई भनेर पत्र लेखेको थिएँ
सजिलो भाषामा एक प्रेमपत्र
पछि चुरोटको ठुटोलाई साक्षी राखेर
छिन्द्रा–छिन्द्रा बनाइदिएँ
खरानी–खरानी बनाइदिएँ
त्यतिखेरै हो सरु
मायाले बुनेका शब्दहरु जलेका
जलेका शब्दहरु खरानी बनेका
त्यति खेरै हो सरु,
रक्सी र खरानीको स्वाद पनि एकै चोटि चाखियो
सब व्यर्थ छन्
अब त्यसको पनि अर्थ छैन ।
आजकल
संजोगमा म तिमीलाई भेट्छु
संजोगमा तिमी मलाई भेट्छ्यौँ
बोल्नै पर्यो
हाँस्नै पर्यो
वास्तवमा त्यसको पनि अर्थ छैन सरु
मान्छेले अर्थ नराख्दा पनि हुन्छ
अब हामीसँग केही छैन सरु
न दिनु छ
न लिनु छ
न आशा छ
न भरोसा छ
त्यही नहुनुमा मधुरो चीसो साँगुरी छ
त्यही नहुनुमा फुस्स फुस्स उड्ने हुस्सुको टुक्रा छ
छेउमा शीतले छ्याप्प भिजेको
तितेपाती छ,
कालीझार छ,
ऐंसेलु छ,
मेटिँदै गएका पाइतालाहरु छन्
बस् !