भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सल्लाझैँ सुसाउँदै / प्रमोद स्नेही

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जीवनको लय सधैँ
एउटै गतिमा नबग्दो रहेछ ।
मृगतृष्णा बोकेर आँखामा
वर्षौ भयो ।
यो वृद्धआश्रमको आँगनमा
पहार ताप्दै
आफैलाई झूठो आश्वासन दिएर
पर्खिरहेछु
कोही आफन्त आएर
पुस्छ कि आँसु
बुझ्छ कि मनभरिका
असङ्ख्य पीडाहरू
जब आफ्नै छायाले
घात गायो
थुप्रै छन् मेरा आफन्तहरू
तर म
एक्लै बाँचिरहेको छु
सल्लाको बूढो रुखझैँ सुसाउँदै
मलाई आफ्नै छायाले लखेट्यो
मलाई आफ्नै मायाले बिझायो
सधैँ-सधैँ कणर्ालीको
भेल बगाउँदै
गालाको पाटोमा
डुब्न लागेको घाम भएको छु ।
जीवनको अन्तिम दिनहरू
आमन्त्रण गर्दै ।
समयले यतिखेर
लौरा थमाई दिएको छ ।
यही लौराको सहारामा उभिएर
मैले अझै कति मृगतृष्णामा भुल्दै
बाटो हेर्नुछ ।
यसरी एक्लै बाँच्नु पर्दा
रुँदै रुँदै हाँस्नु पर्दा
मन अडिने ठाउँ नै छैन ।
नसोध्नुस् विनति नसोध्नुस्
पत्रकार महोदय ।
मेरो आफन्तलाई लाज हुनेछु ।
उनीहरूको प्रतिष्ठानमा दाग लाग्नेछ ।
मेरो आफन्तको नाम ठेगाना ।
मलाई यसरी नै
भत्किएर आफैभित्र बाँच्न दिनुहोस् ।
बल्लबल्ल समालेको
आफ्नो मनलाई
दुःखी तुल्याउन नआउनुहोस् ।
मलाई आफ्नै अलिनो
खुशीहरूमा एक्लै हाँस्न दिनुहोस् ।