भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सहरको मृत्यु सम्झेर / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सहर मर्दैछ
दिन प्रतिदिन
सहरले मृत्यु माँग्दैछ
सहरले थोपा–थोपा गर्दै
सुस्त
नीलो
रङ खाएर मृत्यु माँग्दैछ
घाटीमा नीलो कण्ठ बोकेर
सहर निश्चित मर्दैछ

जर्मनीको एउटा बूढो मान्छेले
मेरो सहर घुम्न आउँदा भनेको थियो —
सडकहरु पक्पकी उप्किएका छन्
धुलोहरु फुङ्फुङ्गी उडेका छन्
सपनाहरु चिराचिरा फाटेका छन्
नीति नियम छैन
चोर चण्डालहरु बढिरहेछन्
यतिखेर मलाई महासङ्ग्रामको याद आइरहेछ
त्यसबेला मेरो देशले तपाईको सहरजस्तै बिष पिइरहेको थियो

सहरको रोडे छातीमा
बलौटे घरहरु
छाला उप्किएका भित्ताहरु
ठिङ्ग उभिएर मृत्यु माँग्दैछन्
मानिसहरु मात्र सल्बलाइरहेछन्
साउती कानेखुसी गरिरहेछन्
म औचित्य बुझ्दिन
म अर्थ बुझ्दिन
ती सल्बलाहटहरुको
ती पाल्सी भाषाहरुको
मान्छेहरु के गर्दैछन्
मान्छेहरु के खोज्दैछन्
मान्छेहरु के सोच्दैछन्
मलाई ज्ञात छैन
केही नौला मान्छेहरु जुँगामा ताउ लगाउँदै हिँडिरहेछन्
इशारा गर्छन्
आँखीभौँ खुम्चाउँछन्
बन्दुक तेस्र्याएर ल्याप्चे लगाउन भन्छन्
सहरको दीघार्युको लागि
सहरको सुस्वास्थ्य र उन्नतीको लागि
तर सहर मर्दैछ
सहर मृत्यु माँग्दैछ

नपाउनेले केरा पा’को......
सहरमा राजनीति भड्किरहेको छ रे
सहरमा बेसुरेनाराहरु
सहरमा बेढंगे पोष्टरहरु
जिन्दाबाद र मुर्दाबादका
झण्डाहरु बोकेर फर्पmराउँदैछन् रे
एउटाले स्वास्नी मार्यो रे
अर्कोले छोरोलाई अंशै दिन्न भन्दैछ रे
मराउ–पराउमा जान छाडेका छन् रे
सहरमा डेमोक्रेसी लागेको छ रे
साङ्लाबाट फुत्केका कुकुरहरु कुन
अबगाल लिएर आउने हुन्
मलाई थाहा छैन
सहरमा एक्कासी के हुँदैछ
तर सहर मृत्यु माँग्दैछ

कुनै भ्रममा बाँचेको छु कि भनेर
मैले सहरलाई
सगरमाथाबाट हेरेँ
बेबिलोनको बगैँचाबाट हेरेँ
पिरामिडको चुचुरोबाट हेरेँ
केही नलागेर
इजरायलको चट्टानबाट पनि हेरेँ
सहरको निधारमा ‘मास हिस्टेरिया’ लेखेको थियो
तर मैले सहरको कुनै अर्थ बुझिन
निधारको ‘साइन बोर्ड’ बुझ्न सकिन
सहर कालो हुँदै जाँदैछ
सहर चीसो हुँदै जाँदैछ
मैले नजानेर
नबुझेर
सहर मृत्यु माँग्दैछ
सहर निश्चित मर्दैछ

म सहरको निम्ति
सहरको दिर्घायुको निम्ति
सहरको स्वास्थ्यलाभको निम्ति
‘हिरोसिमा’ को सान्त्वना दिन सक्दिन
जोडसँग घण्टी बजाएर शंख फुक्न सक्दिन
म आपैm अनिश्चित भइसकेको छु
आवाज छैन
इशारा छैन
शब्द छैन
अब त मात्र गाँडिन बाँकी छु
किनकी
सडक किनारमा झिँगाहरु भन्किरहेछन्
स–साना किराहरु पलाइसकेका छन्
एकैछिन पछि
डुमहरु ट्रयाक्टर लिएर आउँदैछन्
कस्तो अनर्थ
कस्तो दुर्भाग्य
सहरको मलामी जाने तयार गरिरहेको यो मुढो
धेरै अगाडी ढलिसकेको रहेछ

अहिले सहरभरि हल्ला छ रे
पागलखानाबाट भागेर मैले आत्महत्या गरेँ भनेर ।