भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सहर : एउटा प्रतीक्षा / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
छरिएका मनका टुक्रा
र भत्किएका आशाहरूको प्रदर्शनीमा
यत्नसाथ लागेको छ
मेरो सहर यति बेला।
 
स्वागत मुस्कुराएर
पिठ्युँमा छुरा धस्नेहरू छन्
सामुन्ने जीहजुर बजाएर
पछाडि ताना कस्नेहरू छन्
श्रद्धाको शिखर चढेर
आँखाबाट खस्नेहरू छन्
सहर सायद यसैले सहर छ।
 
सभ्यता ओढेको नाममा
दिनदिनै नाङ्गिँदै गएको सहर
स्नेहले सुम्सुम्याउँदा
दम्भले बाङ्गिँदै गएको सहर
व्यभिचार र ईर्ष्याको काउछोघारी
प्रतिपल झाङ्गिँदै गएको सहर
साँच्चै बेथितिहरूको एउटा कुम्भमेला बनेको छ
मेरो सहर।
 
जिन्दगीका रहरहरू आँसुका नहरमा अनुवाद गरेर
सहमति र संवादका नाममा सधैँसधैँ प्रतिवाद गरेर
जहिल्यै एउटा अनिष्टको आयोजनामा मग्न छ सहर
आदर्श संस्कारको भ्रामक पर्दाभित्र यथार्थमा नग्न छ सहर।
 
हामी पर्खिरहेछौँ–
समयचेत फर्केर कहिले सप्रन्छ सहर ?
मान्छेको पक्षमा हेरौँ कहिले उभिन्छ सहर ??
हेरौँ–
कहिले सहर मान्छे भएर बाँच्छ !
कहिले मान्छे सहर भएर बाँच्छ !