भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँढे / दुर्गा दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म अब घाँटीमा दाम्लो नभिर्ने भएको छु
बरु मलाई कुनै गोठ चाहिएन
बरु मलाई कुनै कटेरो चाहिएन
मलाई सन्तोष छ
तिमी मलाई पुरातन संस्कार देऊ
मलाई तिम्रो अप्रतिम ह्दयोद्भाव देऊ
म अब एउटा देश टेक्ने भएको छु
म अब अर्कै प्रदेश कुद्ने भएको छु
मलाई दाम्लामा जिन्दगी साट्न नदेऊ
तिम्रो कुँडोमा म अब नअघाउने भएको छु ।
रातको साङ्लाले मेरो खुट्टा कसेको देख्छौ होला तिमी
मेरो हातको झङ्कारमा विद्रोह देख्न सक्दैनौ
म त मुटुमा आगो सल्काएर पनि हिँड्छु
घामलाई बढाएर अझ उज्यालो पनि माझ्छु
मलाई यस्तो परिवेशमा कुनै गुम्फन चाहिँदैन
र म भन्छु
यसका नसालु हातहरूले मेरो मुटु नरोप
म मुटुहरूमा कहिलेकाहीँ गीत पनि बोक्छु
म मुटुहरूमा कहिलेकाहीँ जित पनि बोक्छु
मलाई दाम्लामा जिन्दगी साट्न नदेऊ
तिम्रो कुँडोमा म अब नअघाउने भएको छु ।
मलाई चाहिएको छ मात्र साँढेका जुराहरू
जो धरखराउँदैनन्
नलरबराउन पनि हिँड्नु छ
र तारमा हात्तीका पाइतालाहरू
एउटा कछुवाको होस पनि चाहिएको छ
एकक्षणलाई स्यालको फुर्ती पनि चाहिएको छ
म सिङ्गै पहाड अब नउभिने भएको छु
मैले जँघारमा पनि यात्रा खिल्नु छ
मलाई दाम्लामा जिन्दगी साट्न नदेऊ
तिम्रो कुँडोमा म अब नअघाउने भएको छु ।
खोज्नुपर्दै छ सङ्गीतहरू काप–कापमा चट्टानतिर
चिसिएर हिमदही जमेका मुटुहरू
जुन धुकधुकी नपाएर पिपका डल्लाजस्ता
जुन स्वर नपाएर गोबरका गुइँठाजस्ता
मृत्यु गनाएर दङदङ्ती
सडक खाताखात पुरिएको छ
मेरो यात्रामा गन्तव्य कोही पन्छाउन खोज्दै छ
म यात्रामा अब वेग खोज्ने भएको छु
म अब घाँटीमा दाम्लो नभिर्ने भएको छु
बरु मलाई कुनै गोठ चाहिएन
बरु मलाई कुनै कटेरो चाहिएन
मलाई दाम्लामा जिन्दगी साट्न नदेऊ
तिम्रो कुँडोमा म अब नअघाउने भएको छु ।