Last modified on 21 मई 2017, at 14:28

सुनको बिहान ./ लक्ष्मीप्रसाद देवकोटा

सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे
रँगिल सब बादल छाउँछ रे
जल चंचल भैकन गाउँछ रे !

चिडया बिउँझेर कराउँछ रे
सब मन्दिर घंट बजाउँछ रे
र हवा पनि बास उडाउँछ रे
दिल फूल सबै बिउँझाउँछ रे !

दुनियाँ सब चार्दछ धाउँछ रे
र हिमाल उँचा झलकाउँछ रे
जलविन्दु सुशीतल ल्याउँछ रे
सब उन्नत झल्ल तुल्याउँछ रे !