सेता हिमालहरू / निमेष निखिल
साना नानीहरूको स्निग्ध अनुहारमा उभिन्छन्
र अग्लिन्छन् चाउरी परेका अनुहारमाथिको टाकुरामा
सेता हिमालहरू ।
कसलाई मन पर्दैन सेता हिमाल !
हरेक दिन कर्मनिष्ठ हातहरू उभ्याउँछन्
परिश्रमको एउटा सेतो हिमाल
हरेक रात समुन्नत सपनाहरूमा
आस्था उभिन्छ सेतो हिमाल
राताराता गुराँसका थुँगा फुलाएर पहराका छातीभरि
निस्सीम सौर्न्दर्य बाँड्छन्
सेता हिमालहरू ।
ढुकढुकीमा माटो बोकेर देश उभिन्छ सेतो हिमाल
पाइलापाइलामा उत्साह समेटेर लक्ष्य मुस्कुराउँछ सेतो हिमाल
अत्याचार ओकलोस् कसैमाथि त्यो हिमालको काम हैन
कसैलाई बिझोस्/दुखोस् त्यो हिमालको स्वभाव हैन
जस्तोसुकै परिवेशमा हाँस्छन्
र हाँस्नै मात्र प्रेरित गर्छन् सबैलाई
सेता हिमालहरू ।
मान्छेविचारको घेरा फराकिलो होस्
र मनभरि उभियून् आत्मीयताका सेता हिमालहरू
अपनत्वभावले ओसिलो बनोस् बस्ती
र हरेक आँगनमा ठडियून् समृद्धिका सेता हिमालहरू
सिनित्त पखालेर मनभरिका दुर्भावना
मान्छे हिमाल बाँचोस् दिगन्तसम्म
र मान्छे बाँचिरहून् सेता हिमालहरू ।