भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सौन्दर्य-उपासना / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(१)
मलाई राम्रा सब चीज हेर्न
अत्यन्त लाग्ने मन चित्त भर्न।
आँखा दुवैले रस प्यूनलाई
अत्यन्त आनन्द हुने मलाई ॥

(२)
राम्रा उज्याला सब फूलबाट
सुगन्धको सौख मिहीनसाथ ।
दिलै भरी आउँछ गद्गदाई
क्यै चीज, जो हुन्न बयान हाई ॥

(३)
म प्यूँछु नीलो छतको मिठास
तारा-जुहारी झलमल्ल खास ।
म चाँदनीको रस प्यूछ मीठो
आँखा कचौरा दुईबाट छीटो ॥

(४)
नीलो कचौरासरिको अकाश
घोप्ट्याइएको रस भर्न खास ।
के त्यो उज्यालो जुन झर्छ याहाँ ?
हो स्वर्गको अमृत खास याहाँ ॥

(५)
अत्यन्त राम्रो दुनियाँ छ सारा
जुहार जस्ता झलमल्ल तारा ।
बयान केही नहुनेछ फूल
छ टाँगिएको झलमल्ल फूल ॥

(६)
बनाउने यो दुनियाँ अपार
राम्रो असंख्यै हुनुपर्छ क्या र ?
कस्तो छ राम्रो सब कारखाना
कस्तो हुँदो हो दिलमा खजाना ।

(७)
मलाइ आँखाभर हुन्छ आँसु
सरर्र भै आउँछ अंग मासु ।
जसै म संझीकन ध्यान-द्वारा
खडा गरी लिन्छु स्वरूप सारा ॥

(८)
सबै नराम्रा जति ती कुरा छन्
मलाई काहीं मनभित्र डस्छन् ।
जो छन् उज्याला तर चीज राम्रा
ती छन् सधैंका सुखतुल्य हाम्रा ॥

(९)
देखेर यस्तो दुनियाँ विचित्र
मलाइ लाग्यो मन भित्रभित्र ।
यस्तै उज्यालो सपना बनाऊँ
छोडेर आफ्नो यश-नाम गाऊँ ॥