भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

स्वर्गकी चरी ! / बद्रीप्रसाद बढू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मैले गर्न सकिन केही पनि हे ! आबै तिमी गैदियौ
बाँच्यौ दुःख गरी दुखी दिनहरू पूरा गरी गैदियौ
मैले देख्न नपाउँदै तिमी गयौ धिक्कार मेरा दिन
मेरा आँशु झरी रसाई मुटु यो पग्ली रहेछ मन //१//

तिम्रो ज्योति थियो र पो घर भरी बत्ती बलेको थियो
तिम्रो शक्ति थियो र पो वरिपरि साह्रा बलियो थियो
तिम्रो आड थियो र पो हृदय यो मेरो दरिलो थियो
तिम्रो स्नेह थियो र पो सब थियो छैनौ तिमी छैन क्यै ! //२//
 
तिम्रा हात थिए र पो त तुलसी फूल्थ्यो भई सुन्दर
तिम्रो मोह थियो र पो घर थियो आनन्दको मन्दिर
तिम्रा ती पसिना बगेर रसिलो हुन्थ्यो सधैँ आँगन
जस्तै दु:ख परे पनि खुशी थियो तिम्रो दयालु मन //३//
 
केही देख्न नपाउँदै तिमी गयौ बत्ती निभ्यो साँझमा
डाँडा पार खसिन् कठै नि बिचरी आकाशकी चन्द्रमा
मैले देख्न नपाउँदै तिमी गयौ धिक्कार मेरा दिन
मेरा आँशु झरी रसाई मुटु यो पग्ली रहेछ मन //४//
 ##############
कठै ! भन्ने मान्छे पनि अब यहाँ छैन नि कुनै
थिइन् यौटी देवी ! उनी पनि गइन् छैन अब क्वै
कठै! राती राती दु:ख अति गरी नित्य बिचरी
हरे ! फर्की आफ्नी घर तिर गइन् स्वर्गकी चरी ! //५//