भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हर्कमाया / पवित्रा लामा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हर्कमायाको दिन .....
शुरू हुन्छ,
भालेको पहिलो डाकभन्दा धेरै अघि...
अलि-अलि रक्सीको वास्ना आइरहेको
लोग्नेको आधिपत्य पन्साउँदै...।

हात-मुख धोएपछि
निधारमा रातो बिन्दुली टीका
र सिउँदोभरि रातो रङ भर्नु
हर्कमायाको पहिलो काम ।

काँचो-सुक्खा दाउराको ठेलाठेल
र धुँवासरिको भान्सामा
परिवारको पोषणलाई व्यवस्थित पार्दै
अन्नपूर्णा हर्कमाया
तरला दलालभन्दा कतै केही कम देखिन्न ...।

हर्कमाया स्वास्नी हुनको मर्म बुझ्दछे
हर्कमाया नारी हुनको धर्म पनि बुझ्दछे
उसलाई रातो रङको मूल्य थाहा छ
लगनको बेला
अग्निलाई साक्षी राख्दै
खुकुरीलाई उधोमुण्टो पारी
उसको जिन्दगीका कोरा सेता पानाभरि
लोग्नेले रङ्गाउँदै रङ्गाउँदै
राताम्मे बनाएको उसको इतिहासको
एक पाना अध्याय...
हरियो बाकसमा सुरक्षित
लगनको जोडा,
र थुप्रै-थुप्रै लज्जालु पलहरू
हर्कमायाले साटेकी छे लोग्नेसित
आद्योपान्त.....।

हर्कमाया कुनै वादको घेरामा पर्दिनन्
पर्दिनन् कुनै अवधारणाको परिधिभित्र पनि
उ पाँच प्रहर श्रमले,
एक प्रहर प्रेमले,
दुई प्रहर मिठो निद्राले
तर आठै प्रहर दायित्वले मिश्रित
एक क्लियोपेट्रा, एक नेफ्रतिति,
एक हेलेन, ब्लेण्डा र कर्नेलिया
एक जोन अव आर्क,
एक अनन्य किम्वदन्ती....।

घरि कान्लाघारि उक्लाइमा
घरि ममतामयी गाँस खुवाइमा
घरि अम्लिसो र नेभारा कटाइमा
रमाइरहेकी, गुनगुनाइरहेकी हर्कमाया ...।

आफ्नो साँध-सिमानाभरिकी
एकछत्रे रजिया सुल्तान
आफ्नो काखभरिकी जीजाबाई
आफ्नो प्रणयभरिकी मुमताजमहल
आफ्नो जिन्दगीभरिकी लक्ष्मीबाई ।

हर्कमाया तर्क जान्दिन
न जान्दछे शास्त्र घोक्याइँहरू
साउँ अक्षर चिन्न समेत नपाई
डोको र नाम्लोहरूले थिचिएकी हर्कमायाले
बूढी औंलालाई धेरैचोटि काम लगाएकी छे
कहिले सही गर्नमा र कहिले बेसही गर्नमा ..।

‘कन्या भ्रूण हत्या’ सुन्दै नसुनेकी हर्कमायालाई
थोरै भएपनि कृष्ण-द्रौपदीको कथा थाहा छ
दुर्गा र कालीअघि निहुरिने उसको आस्था
लोग्नेअघि पनि उत्तिकै नतमस्तक छ ।

राष्ट्र-सङ्घहरूले पारित गरेका
घरेलू हिंसा विरोधी ऐनहरू
वा रायसीनाभरि धलीमली भएका
जुलूस र नाराबाजीहरूले
किञ्चित कतै छुन नसकेका
हर्कमायाको बुद्धिमताले
ठिम्याउनै सक्दैन,
उसको देशको साँध-सिमाना
कुन घाटी, कुन दर्रा,
कुन खाडी, समुद्र र देशहरूसित
ठोक्किएको छ....।

भर्खरै घाँसको भारी छेवैमा बिसाएर
चप्लेटी ढुङ्गामा सुस्ताइरहेकी हर्कमायालाई
मीठो शरबत पिलाइदिऊँ कि
अरून्धती, सिमोन डि बोवा, तसलीमा
गायत्री र महाश्वेताहरू एकैचोटि घोलेर....
कि शहनाज, नीलोफर र केया सेठहरूका
अरोमा थेरपीहरूमा मगमगाइदिऊँ ....
नभए उसका पाइतालाको चिरा र
हँसियाका टुप्पाबाट स्याऊँ-स्याऊँ
उमारिदिऊँ कि मार्क्स,एन्जेल्स,चे र
माओका युगान्तकारी नारा र घोषणाहरू.....
कि कानमा सुटुक्कै सुनाइदिऊँ
मन्दिर, मस्जिद, गुरूद्वारा,गुम्बा र गिर्जाहरूमा
शनैः शनैः भित्र-भित्रै पलाइरहेका
वैमनस्यता र असहिष्णुताका रागहरू......।


कि रमाउन दिऊँ हर्कमायालाई,
अनि गुनगुनाउन दिऊँ...
जिन्दगीका मीठा, अबोध,
पूर्णता र सन्तुष्टिका गीतहरू
उसका सीमित कान्ला-कन्दराहरूमा.......???