हर्षोन्मत्तता / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल
आफ्नो हृदय रित्याउने बेला हो यो मेरो
अपरिमित निश्तब्दतामा हराउनका लागि,
आफ्नो बोली सुन्नका लागि ।
आफूलाई
कुनै अस्थिर हृदयको प्यालामा खन्याउने
र आफ्नो मदहोसीलाई अरूको उल्लास बनाउने बेला हो यो ।
सागरको गहिराइसँग एकाकार भएर
छालहरूलाई आफ्नो गौरव भत्काउन दिने बेला हो यो मेरो ।
यो मेरो
मैनबत्ती बालेर आफूलाई जूनकीरी बनाउने
र तिम्रो उज्यालोभित्र पसेर अमर हुने बेला हो ।
तिमीले कुनैबेला दिएको ओज ओढेर
तिम्रो अदृष्य अँगालो अनुभूत गर्ने
र आफ्नो हृदयलाई पग्लन दिने बेला हो यो मेरो ।
यो मेरो
म आजसम्म नभएको म हुने
र तिम्रा पवित्र, स्वच्छ अधरबाट
हर्षोन्मत्त रातको चुस्की लिने बेला हो ।
रातलाई फेरि तिम्रो नाममा समर्पण गर्ने
र फेरि एकपल्ट आफ्नो जूनेली हराएर डराउने बेला हो यो मेरो।
यो
नुहाएर किनारमा सुस्ताइरहेको सागरको हृदय,
ठ्याक्कै तिम्रैजस्तो हृदय
सिपीमा स्पन्दित भइरहेको सुन्ने बेला हो मेरो ।