भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हामी नेपाली / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


चाउरिएर विपन्न यथार्थमा,
स्वाद निल्छौं सम्पन्न भविष्यको,
भविष्य भोगेर जीवन गुजार्ने,
कठै हामी नेपाली ।

खिया परेका खुँडाहरूमा
वीरताको दुहाई गुथेर
अझै छाती फुलाउँछौं
पुख्र्यौली सामन्त इतिहासको ।
भीखका पराइ शरीर भित्र
पराइ मस्तिष्कले डोर्याइएका
गन्तव्य विहीन यात्रु
राष्ट्रकै मलामी बनेको थाहा नपाउने
बुद्धू ,हामी नेपाली ।

राष्ट्रको झोल चोक्टामा भागबण्डा नमिलेर
काटाकाट गर्ने राष्ट्रका किरियापुत्रीहरू
राष्ट्रकै लँगौटी खुस्काएर
राष्ट्रियताको भाषणमा मस्त छौं ।
देश लाजले घोप्टो परेको बेला
गुप्ताङ्ग अझै नङ्ग्याइदिएर
श्लीलता उँचो देखाउन दिल्ली र वासिंटन धाउने,
बुद्धको गुप्ताङ्ग निदारमा टाँसिदिएर
तिनै अश्लील बुद्धलाई भीखमा साट्न
विश्व दौडाहामा निस्कने
हामी नेपाली ।

सर्वांङ्ग आफू थिएटरमा नाँचिरहँदा
लाजले मुख छोपिरहेका दर्शकलाई
औलो बङ्ग्याएर कुरी कुरी भन्ने
हामी नेपाली ।
धत् ,हामी नेपाली ।