हिउँफूलको शिखरमा उभिएर / विमला तुम्खेवा
सिमानाको डिलमा उभिएर
एक हूल घाइते मुटुहरु
राष्ट्रि यता खोजिरहेछन्
संवेदनाविहीन मान्छे भएर
बाँच्न कति गाह्रो हुँदोरहेछ
म —
आकाश ओढेर बाँच्नेहरुको भीडमा
अन्तहीन कथा भएर उभिएकी छु
म सोच्ने गर्छु
आफ्नो जीवन र घर छेउको वृद्ध शिरीषलाई
निर्धक्क भएर आफैसँग
हाँस्न नसकिएको जिन्दगी
किन लेख्न सकिनँ ?
मैले —
समयको क्यालेन्डरमा जितका उत्सवहरु !
रङ्ग हीन बेखबर
लेख्न नसकिएको थुप्रैु–थुप्रै अनुहारहरु
मनहरुमा
जिजस भएर मरेका छन्
मनहरुमा जिजस भएर बाँचेका छन्
म, आदिम नगरबाट
सभ्यताको प्राचीन ऋचा गनिरहेछु ।
समयको क्यालेन्डरमा
यो वृद्ध शिरीषसँगै
उसले सजाएर राखेको सुन्दर सपनाहरु
किन बेखबर छ
तिम्रो कविताको प्रतियोगितामा,
कविजी —
कवितामा उसले थुप्रै् विद्रोह गरेको छ
कवितामा उसले आफूलाई हराएको छ ।
नाङ्गो नाच नाँच्न नजान्ने ऊ — आफ्नो विश्वाससँगै
पलपल मरेर पनि बाँचेकाछ
हिउँफूलको शिखरमा उभिएर
मृत्यु–उत्सव मनाइरहेका मान्छेहरु
म —
सगरमाथाको उचाइसँगै किन झन् तल–तल झरिरहेछु
राष्ट्रियता खोज्नेहरुको भीडमा
किन म बेमूल्य प्रदर्शित भैरहेछु ?
कुनै नाटकको यात्री भएर
वा कुनै कविताको मुटु छुवाउने शब्द भएर ।