हिमाल / मधुधारा अधिकारी
बादल सलबल गर्थ्यो चल्थ्यो उत्तर पश्चिम गर्दै कुथ्यो
हेरिरहन्थें सब त्यो हाल रूप अनेकन बादल-चाल
सेतो पहिले पछि भो फुस्रो अलिपछि कालो उसमा धुस्रो
गर्जन थाल्यो दक्षिण भारी 'मधु' को उरमा अति पिर पारी
टाढा जंगलतिरका गोठ खाइरहेका हिमको चोट
गाईहरुको बाँबाँ बोल भर्छ हृदयमा सुखको झोल
फुस फुसुफुसु प्यूरीसरि गिरि गिरिमा अलि अलि गर्दै भरियो धुरिमा
अघिको हरियो यौवन काल रुख अब सेता वृक्षकपाल
किचिकिचि चूचू शब्द हरायो जहितहि सेतो हिमले छायो
उच्च गिरिका चौंरी-गोठ अब तहिं ममको सुन्दरमोठ
ऐनाभित्र छ टलटल पानी हिंड्छन् बाहिर थल नै ठानी
धाराबाहिर पायब साहो बलसित फोरी पानी झार्यो
पहिरो झर्दछ गहिरो भीरमा छरबर सेतो झरिने गिरिमा
लामो-लामो बख्खू दोचा लाई हिंड्छन् बस्छन् होचा
टकटक सेतो तिरिमिरि आँखा भारि गर्हुँ भै गिर्छन् शाखा
हिम बिलिनाले माटो गीलो झरना कहि भो, कहि भो हीलो
पहिले देखि टम्म तुसारो झरि जमेको जिमि अति साह्रो
कहि माटाको छन भकक्क भित्र लुकेको हिम त्यो भट्ट
हिड-डुल वरपर बन्द गरायो हिम राशीले मार्ग हरायो
घोडा चौंरी कसरी जानी हिंड्छन् बहुतै बाटो ठानी
पहिले यौटा टकटक हानी हिम राशीमा बाटो जानी
फेरि छिचोल्यो अनि अब सारा उहि पाइलाको टाव पहारा
काखि मन्तिर हात मटक्क पायो तैपनि पार्छ कटक्क
सबका प्यारा अग्नि सहारा धनि ऊनि कपडा लिन्छन् सारा
ऊ-पर अहहा शैय्या सेतो गम्म परेको अर्को के त्यो
सुन्दर हिमको थरि थरि रूप राम्रो बहुतै जाडो खूप,