भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

‘सुत्केरी’— जैविक बाध्यता र रहर / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बोकी अजङ्गगको भारी लाजको मोल छोप्तछिन्
बिगारी रुप सौन्दर्य सन्तान मोह पोख्तछिन्

भविष्य सुखको भोग्न आजको दुख बिर्सने
कल्पेर शिशुका निम्ति प्रेमको रुप सिर्जने

छुट्टिँदा मुटुको टुक्रा करुणा रुप धर्दछिन्
नसकी थाम्न पीडाले छट्पट् छट्पट गर्दछिन्

खोला बग्दछ आँसुको आँसु खोला बनीबनी
गड्गडाउँछ चम्केर बिजुली पनि मौसमी

पीडाको भेलले निल्छ कष्ट ज्वाला छुटीछुटी
उठ्छ क्रन्दनको लामो सुस्केरा मृत्युमा सुती

त्रासले मुटुचंै काम्छ आसले मन अड्दछ
जहाँ बाँचे सदा हाँस्थिन् उहीँ मृत्यु समीप छ

खेपेर स्वार्थको पीडा लोग्नेका कुल धान्नको
पैरिन्छिन् मृत्युको माला आमाका मूल्य मानको

गलेको मनले बोल्छ मृत्युका मुखमा पनि
हुक्र्योस् है सुखले मेरो सन्तान मै मरे पनि

त्यागेर जिन्दगी आफ्नो सन्तति सुखमा रमी
मातृत्व भावना बोल्छ वात्सल्य प्रेमकी धनी

छुट्याई मुटुको टुक्रा छाती आफ्नो चुसाउँदा
भुल्दछिन् मृत्युका वाणी नानी च्याप्प समाउँदा

उनीचैं कष्टले रुन्छिन् लाजले अरु हाँस्तछन्
उनीचैं दुःखमा डुब्छिन् आसले अरु नाच्तछन्

आशामा छ कुनै स्वार्थी वंश वा पिण्ड प्यासको
जन्माउँछे कि छोरा वा छोरी सर्वस्व हारको

जन्मले शिशुको गर्छ निर्धारण सुसारकोे
भए छोरा मिठो चोखो भए छोरी हरामको

बूढीकन्या भनाइन्छन् विहे नभै बसेपनि
नक्कली उपमा धड्छन् कतै अत्तर् घसेपनि

नबोलौं क्यै अबोला रे बोलौं बास्यो भनाइने
नहिडौं भइने गोजे हिडौं जतै गनाइने

क्षमता बलमा जोख्ता जोखिन्न किन बुद्धिमा ?
दाँज्दैन किन हो मान्छे श्रम सीप र जुक्तिमा ?

किटेको दैवले हैन, हैन त्यो पूर्व जन्मले
समाज भित्रको यौटा पारम्परिक स्वार्थले

दूरी यो दृष्टिको मेट्न लिङ्ग वा वंश प्यासको
बिरुवा बुद्धिको रोपौं मान्छेमा आत्मज्ञानको