भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"पुस्तान्तरण / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=इत्...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

16:54, 25 अगस्त 2024 के समय का अवतरण

अनन्तताको एउटा सूक्ष्म क्षणलाई समाएर
अवतरित हुन्छ धरामा
विराटताको एउटा सानो कण ।

हुनुको क्षणिकतालाई जोगाउने कोशिशमा
पालना गर्छ परिवेशका आदेशहरूको
अङ्गीकार गर्छ परिस्थितिका उपहारहरू
र ग्रहण गर्छ समाउन सक्ने जेसुकैहरूलाई ।

जोडिरहन्छ सीप र कौशलका त्यान्द्राहरू
हिँडाइरहन्छ चालका गतिहरूलाई
घोटिरहन्छ वाणी र धुनहरू
उडिरहन्छ कताकता मनभित्रभित्रै ।

स्वार्थहरू जोडिँदैजोडिँदै
बनिँदै जान्छन् सभ्यता र संस्कारहरू
फेरिँदै जान्छन् मान्यता र व्यवहारहरू ।

विलिन भएर जान्छ प्रत्येक सूक्ष्मता
तर
शुरू भइसकेको हुन्छ
अर्को क्षणिकताको अर्को लघुयात्रा
सृष्टिको अनन्त हिँडाइमा केहीबेरको साथ दिनका लागि ।