सिल्भियासँग एक साँझ / रमेश क्षितिज
समय घोडाका टापहरू
टक्टक् दौड्दैछन् द्रुत गतिमा,
ठमेलको यो व्यस्त साँझमा
गल्लीहरू छिचोलेर हामी भेट भएका छौं
फेरि सायद भेट हुँदैन भन्नलाई !
र आफैंसँग तर्किहिँड्न स्वप्नहरूलाई प्रेम गर्न
विवश छौं हामी
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
टेबुलपिच्छे फरक छन् अन्तर्कथाहरू,
मध्याह्नका घटनाहरूलाई जबर्जस्ती बिर्सेर
व्यस्तता उग्राइरहेछ आ–आफ्नै धुनको झाडीमा
नेपथ्यमा बजिरहेछ सुरसुधाको मधुरो आर्केस्ट्रा
र मातेर टोलाइरहेका आँखामा
तरल–तरल बगिरहेको छ बिदाइ
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
केही विषादहरू छन् आधी गिलासमा
र उडिरहेको धुवाँमा रङ्मङ्गिरहेको छ बाँकी खुसी
प्लेटमा चलाइरहेको काँटाले
पटक–पटक आफ्नै मुटुमा घोचेर
हामी पिउँदैछौं
अत्यासलाग्दो समयमा अन्तिम मातहरू
अनि हेर्दैछौं
मुर्कट्टा प्रश्नका भयानक आवेगहरू
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
सर्वव्यापी शाश्वत भाषा छ मान्छेको !
अनुहारमा पोतिएको सघन उदासी,
मुस्कान र आँसु,
पीडा र अनुभूतिका खुट्टाहरू
भाषाबिनाका भाषा भएर ओहोरदोहोर गर्छन्
मनमनका कोरिडरहरू
संवादहीन भएर हामी अल्झिरहन्छौं संवादहरूमा,
किन मेट्न सकिन्न सिमाना र साँधहरू ?
किन बटुलेर संसारका जम्मै झन्डाहरू
रंगीचंगी कपडा बनाउन सकिन्न
नांगा मान्छेका लागि ?
मान्छे हुनुको परिचय नै किन पर्याप्त बन्दैन
मान्छेको आफन्त हुनुका लागि ?
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
पञ्चकन्याका मुस्कानमा
तिमीले भेट्यौ हिमालहरूको विम्ब,
तिम्रा निला आँखाहरूमा हेरेँ मैले
अथाह समुद्र,
एउटै पृथ्वीमा बसेर पनि
किन यति टाढा भइरहन्छौं हामी ?
मुखुन्डाहरू – लाँखेका
तस्बिरहरू – कुमारीका
पोखरीका गहहरू र बुद्धको तेलचित्र
यी सबै अपूर्ण हुनेछन्
सग्लो मान्छेको अर्थपूर्ण उपस्थितिबिना
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं ।