दिलको बदनाम लिएर / सुमन पोखरेल
आएथेँ तिम्रो शहर प्रेमको सरदाम लिएर
फर्किँदै छु वेदना र दिलको बदनाम लिएर
निष्ठुरी, निर्दयी, सन्की, पागल, बौलाहा
धेरै भए, के गर्नु मैले, यत्रा इनाम लिएर
तिमी प्रतिको प्रेम मेरो कसै गरे पनि घट्दैन
तिमीले नै मारे पनि, मर्छु तिम्रै नाम लिएर
तिमीबिना हरेक क्षण अधूरो, अपूरो, अधीर छ
तिमी नआए के गर्नु यो दुनियाँ तमाम लिएर
हृदय मेरो मरिगयो तिम्रै निष्ठुरताको शीतले
नआऊ अब फकाउन चिसो मनको घाम लिएर
केही गर्नै नदिई फर्कायो जीवनबाट प्रीतले
खटाइएको थिएँ म यहाँ हजारौँ काम लिएर
रचेको थिएँ जसको लागि सुन्नेछैन उसले
कहाँ जाऊँ अब म, मेरा गजलको गोदाम लिएर
थिएन अनुभव जिन्दगीको यस्तै भयो यसपल्ट
फेरि आएँ भने जानेछु म कुनै सुनाम लिएर
भेट हुने जो कोहीले एउटाएउटा चोट दिन्छ
अझै कति बाँच्नुपर्ने यी चोटहरूको डाम लिएर
पक्कै कोही आउने छैन, दुःख दिन यहाँ अब
चितामाथि निदाइरहेछु जीवनको विश्राम लिएर
मन त मर्या थियो ज्यूँदो छस् तँ कसरी सुमन !
वा जाँदैछस् यी पलहरूलाई तेरो मलाम लिएर ?