नपग्लिएपछि
अलिकति पनि
आँखाहरुबाट संवेदनाहरुको हिउँ
नछोएपछि
छ्वास्सै पनि
ताता फलामे मुटुहरुलाई
चिसा अनुभूतिहरुका छालहरुले
आजभोलि
दिउँसै
म
नयाँसडकमा
लालटिन बालेर
कविता सुनाउन
श्रोता खोजी हिड्दैछु
एउटा हार्दिकता खोजी हिड्दैछु
फुर्सद छैन हजुरहरुलाई ?
ठीकै छ !
म
बिशालबजार अगाडि
खुला सडकमा उभिएर
ट्राफिकलाई अटेर गरेर
मेरो 'लेटेस्ट' कविता
आज
शालिकलाई सुनाउँछु !
म
मेरो कविता
जुद्ध शमशेरलाई सुनाउँछु !!
र,
शायद
के थाहा ?
भोलि
म
मेरो भोलिका कविता
हिटलरलाई सुनाउनेछु !!!
नपग्लिएपछि
अलिकति पनि
आँखाहरुबाट संवेदनाहरुको हिउँ...