समय / रमेश क्षितिज
सेतै कपाल फुलिसकेको
एउटा बुढो समय – साहु
गरप्–गरप्
बुट बजाउँदै दिनहरूको
र टेक्दै कुटे लौरो वर्ष–वर्षको
उक्लँदै आयो मेरो उमेरको ढुंगे सिँढी,
पहिलो पल्ट
फुकायो उसले–उत्साहको किलामा बाँधिराखेको
गाभिन खुसी
र डो¥याउँदै हिँड्यो,
अर्कोपल्ट
लुट्यो – ह्रदयको सन्दुकमा साँचिराखेको
अमूल्य सपना,
फेरि आयो
र रहर फुलेको विश्वासको चौडा फाँट
सा¥यो आफ्नो नाउँमा
बलजफ्ती लगायो मेरो सहीछाप,
हरेक पल्ट जब आयो ऊ
केही न केही अवश्य लिएर गयो
कहिले ब्याज भनेर लग्यो – स्वप्नवत बैंस
कहिले स्याज भनेर लग्यो – प्रिय जिन्दगी
सधैंसधैं रित्तिएँ म
उसको चक्रवर्ती हिसाबले !
अन्तिमपल्ट
हुरीको आवेगमा हुन्हुनाउँदै आएको उसले
टपक्क टिपेर लग्यो
टुक्र्याएर मलाई चिथोरेर सर्वांग – छोडिदियो !
ढुंगालाई गीत सुनाएजस्तो
सुनेन कुनै बिन्ती,
बरू हिँड्दाहिँड्दै थमाएर गयो गतिशील उसले
हातमा एउटा सुनौलो बाँसुरी
र भन्यो – यो समय
पर्खने समय हो तेरो – कुनै नयाँ समयलाई !